महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए । दैनिक बिहान र साँझ प्रार्थना गर्थे । प्रार्थनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे । कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नुपर्दा उनी दुःखी थिए । हिन्दु र मुस्लिम समुदायबीच कत्लेआम चलिरहेको थियो । भारत अशान्त थियो । राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए तर उनको विचारको सुनुवाइ भइरहेको थिएन ।
गान्धीको नित्य प्रार्थनाको समय साँझ ५ बजे थियो । तर त्यस दिन गृहमन्त्री बल्लभभाइ पटेल भेट्न आएकाले १५ मिनेट ढिलाइ भएको थियो । कुराकानीको विषय गम्भीर भएकाले पनि उनले भेटघाटलाई अतिरिक्त समय दिए । प्रार्थनाका लागि जुटेका करिब २ सय ५० जना धैर्य धारण गरिरहेका थिए ।
भेटघाटपछि उनी नातिनीहरू आभा र मनुको काँधमा हात राखेर प्रार्थनासभातर्फ लम्किरहेका थिए । सँगसँगै ढिलाइ भएकोमा आफ्ना सेविका एवं नातिनीलाई झपार्दै थिए । नातिनीले भनिन्, ‘त्यति महत्त्वपूर्ण व्यक्तिसँग गम्भीर विषयमा छलफल चलेको थियो, कसरी तपाईंलाई प्रार्थनाको समय भयो भनेर अत्याउन सक्थ्यौं र ?’ गान्धीले जवाफ फर्काए, ‘नर्सको कर्तव्य बिरामीलाई समयमै औषधी सेवन गराउनु हो, ढिलाइ भयो भने बिरामी मर्न पनि सक्छ ।’
त्यही नै उनको जीवनको अन्तिम संवाद हुन पुग्यो । उनी मञ्चतर्फ उक्लँदै उपस्थित जनको नमस्ते फर्काउँदै थिए । गान्धी तीन–चार सिँढी मात्र के चढेका थिए, नाथुराम गोड्से भीडमा हत्याको तयारीसाथ प्रतीक्षारत रहेछ । उसले केही झुकेजस्तो गरी गोजीबाट बन्दुक निकालेर गान्धीको छातीमा गोली बर्सायो । गान्धीले अन्तिम समयमा ‘हे राम, हे राम’ मात्र भनिरहे । उनको तत्काल निधन भइहाल्यो ।

आज त्यही दिन हो, ३० जनवरी । विश्वकै इतिहासमा क्रूर अनि बीभत्स दिनका रूपमा दर्ज छ । सन् १९४८ जनवरी ३० तारिखको साँझ ५ः१७ (भारतीय समय) मा गान्धीको अकल्पनीय हत्या भयो । गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो । उनको हत्यासँग जोडिएको सवालमा भारतमा अहिलेसम्म राजनीति हँुदै अएको छ । गान्धीको हत्याराको पक्षपोषण गर्ने शक्ति (दल) भाजपा अहिले भारतको सत्तामा छ । हत्यारा नाथुराम गोड्से थियो भने योजनाकार वीर सावरकार ।
उनको हत्याको पहिलो प्रयास सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा गरिएको थियो । तर गान्धी बच्न सफल रहे । दोस्रोपटक सन् १९४४ जुलाई २२ तारिखका दिन गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेको थियो । तेस्रो प्रयास सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो । दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकर त्यसरी नै छुरा प्रहार गर्दा समातिएको थियो । चौथो प्रयास सन् १९४६ जुन ३० मा फेरि त्यही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
पाँचौं प्रयास सन् १९४८ जनवरी २० तारिख थियो । दिल्लीस्थित विडला भवनको गान्धीको प्रार्थनासभामा सुतली बम प्रहार गरिएको थियो । उक्त घटनामा मदनलाल पहवा नामक युवकलाई पक्राउ गरिएको थियो । पहवाको साबिती बयानले गान्धीको हत्यामा उसलाई परिचालन गर्ने व्यक्ति सावरकर नै रहेको पुष्टि हुन्छ ।
छैटौं प्रयास त्यही हो जसमा गोड्से सफल भयो । गान्धीको छातीमा तीन गोली बर्सियो ।यो वर्ष गान्धीको १ सय ५०औं जन्मजयन्ती हो । त्यसैले वर्षभरि रचनात्मक कर्म गरेर गान्धीलाई सम्झिने भारत सरकारले योजना बनाएको छ । तर, योजना कति कार्यान्वयन भयो, कुनै मूल्यांकन हुन सकेको छैन । यही अवसरमा गान्धीको पुण्यतिथि आएको छ । ३० जनवरीमा केन्द्रित रहेर उनको हत्या किन गरियो, कसले ग¥यो भन्ने चर्चा गर्नु सान्दर्भिक हुनेछ । गान्धीको जीवनमा २४ वर्ष व्यतीत गरेका स्व. नारायणभाइ देसाईका अनुसार छैटौं पटकको प्रयासमा उनको हत्या भएको हो ।
देसाई गान्धीका स्वकीय सचिव महादेव देसाईका पुत्र हुन् । उनले पनि सन् १९४२ देखि १९४८ सम्म गान्धीको सचिवालयमा काम गरेका थिए । नारायण देसाई आफ्नो जीवनको अन्तिम कालखण्डमा गान्धीलाई आधुनिक विश्वसमक्ष चिनाउन सक्रिय थिए । नेपालमा पनि उनले गान्धी–कथा गरेका थिए । गान्धीको जीवनगाथा उनले कथाका माध्यमबाट अभिव्यक्त गरेका थिए । सन् २०१५ मार्चमा नेपालमा भएको उक्त कथा सुन्ने अवसर यो लेखकले समेत प्राप्त गरेको थियो ।
देसाईका अनुसार त्यसअघि पाँचपटकसम्म सावरकरले परिचालन गरेका मानिसले गान्धीको हत्या प्रयास गरे पनि विफल भएको थियो । सन् १९३४ मा सावरकरले पुनामा चलाएको पत्रिकामा गोड्सेले ‘गान्धीको कौन जिने देगा’ भन्ने लेखमार्फत ‘थ्रेट’ गरेको थियो । त्यस बखत गान्धीले तपाईंको आयु कति भन्दा ‘भगवान् श्रीकृष्णले १२५ वर्ष आफ्नो आयु बताउनुभएको थियो तर उहाँ त्यति बाँच्न सक्नुभएन ।
तर कृष्णले कल्पना गरेको १२५ वर्ष चाहन्छु’ भन्ने उत्तर दिएका थिए । त्यसको जवाफमा गोड्सेले त्यस्तो जवाफ दिएको थियो । पटक–पटक हत्या प्रयास गरेका सावरकर र गोड्सेलाई उनले कहिल्यै घृणाका पात्र बनाएनन् । सधैं सम्मान गरिरहे । लेखपछि पनि गान्धीले ‘तिम्रो असन्तुष्टि केमा हो, आऊ छलफल गरौं’ भनी आग्रह गरेका थिए । तर गोड्से आएन । हत्याका लागि विभन्न प्रयास गरिरह्यो ।
त्यसो त गान्धी हत्याको प्रयास दक्षिण अफ्रिकामा समेत भएको थियो । तर पनि उनले कहिल्यै सुरक्षाको प्रत्याभूति नै गरेनन् । स्वतन्त्रताका लागि जीवनभर लडेका गान्धी स्वतन्त्र भारतमा १६८ दिन मात्र बाँचे । हत्याका बखत उनलाई लगाइएको आरोप थियो– गान्धीले भारत र पाकिस्तान विभाजन हुँदा पाकिस्तानको पक्ष लिए । विभाजनका बखत पाकिस्तानलाई दिने भनिएको ५५ करोड रुपैयाँ भारतले दिन विलम्ब गरिरहँदा उनले पाक सरकारका प्रधानमन्त्री सुहारवर्दीका पक्षबाट सरकारलाई आग्रह गरेका थिए । त्यसैले उनी हिन्दुविरोधी कहलिए । अन्त्य पनि त्यही आरोपमा भयो ।

भारतको राजनीतिको केन्द्रमा अहिले पनि गान्धी छन् । उनको आदर्श र चिन्तनका विषयलाई अङ्गीकार गर्ने वा हत्याको योजनाकार वीर सावरकरले लिएको धार्मिक मार्गलाई अपनाउने भन्नेमा भारतीय संसद्मा बहस चल्ने गर्छ । त्यसैले गान्धीका बारेमा राजनीति हुँदै आएको छ । जब–जब भारतमा राजनीतिक संकट आइपर्छ त्यति बेला सरकार र विपक्ष दुवैले आआफ्ना तर्कमा गान्धीका अभिव्यक्तिलाई उद्धृत गरेर आफूहरू सही मार्गमा रहेको दाबी गर्छन् ।
गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ । त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन् । भारतमा जब–जब निर्वाचन हुन्छ, गान्धीका बारेमा बहस सुरु हुन्छ । त्यसका अतिरिक्त उनको जन्मदिन २ अक्टोबर र पुण्यतिथि ३० जनवरीको अवसर पारेर चर्चा र बहस हुने गरेको छ ।

गान्धी भारतको स्वतन्त्रता आन्दोलनका सारथि रहे । त्यो पनि अहिंसक तरिकाबाट गान्धीको संघर्षको शैलीमा प्रतिरोध मात्र थियो, प्रतिशोध थिएन । उनले आफूमाथि हमला गर्नेहरूमाथि पनि कुनै प्रतिशोध देखाएनन् । गान्धीको हत्यापछि संसद्मा गृहमन्त्री बल्लभभाई पटेलसँग सांसदले सोधेको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘त्यस दिन म आफैं त्यहाँ उपस्थित थिएँ ।
त्यसअघि २० जनवरीको घटनापछि बापुजी सुरक्षाव्यवस्था कडा बनाउनुप¥यो भन्ने अग्रह गर्दा इन्कार गरिदिनुभएको थियो । उहाँलाई मृत्युको कुनै भय थिएन । अरूजस्तो असामान्य व्यक्ति भएको भए उहाँले नाइँ भने पनि सुरक्षाव्यवस्था मिलाउन सरकार अग्रसर हुने थियो । तर उहाँजस्तो असामान्य व्यक्तिले अस्वीकार गर्दागर्दै म एउटा सामान्य मन्त्री कसरी इन्कार गर्न सक्थेँ र ?
मैले उहाँलाई जति नजिकबाट चिनेको थिएँ, सायद तपाईं प्रश्नकर्ताले पनि चिन्नुभएको थिएन । उहाँको भनाइलाई इन्कार गर्दा हुन सक्ने परिणाम मेरा लागि झनै भयानक रहन्थ्यो । तर दुःखका साथ भन्नुपर्छ, तपाईंले गर्नुभएको जिज्ञासामा सत्य छ । सरकारले उहाँको सुरक्षा गर्न सकेनौं । यसका लागि क्षमायाचना गर्छु ।’













































































































































































































