चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता एवं समाचारवाचक दुर्गानाथ शर्माको बुधबार ७२ वर्षकाे उमेरमा निधन भएको छ। २०४२ साल पुस १४ गते नेपाल टेलिभिजन सुरुवात हुँदा शर्मा पहिलो एङ्कर (प्रस्तोता) थिए ।
नेपाल टेलिभिजनका तीन हस्तीमा नीर शाह, तपानाथ शुक्ल र शर्मा परिचित छन् । शर्मा केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त थिए । नेपाल टेलिभिजनका निर्देशक राजु सिलवालका अनुसार गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि शर्मालाई गंगालाल हृदय केन्द्र र मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो। पहिले नै हृदयाघात भएका शर्मा त्यसयता निरन्तर उपचारमा रहेकाे पारिवारिक स्रोतले जनाएको छ । २००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपालमा समेत काम गरेका थिए । उनले नेपाल टेलिभिजनकाे महाप्रबन्धककाे जिम्मेवारीसमेत सम्हालेका थिए ।



















































































































































































































