बागलुङको मल्म पाण्डवखानी, रमुवा, रणसिंहकिटेनी हुँदैन ढोरपाटन जोड्ने सडकको दोस्रो चरणको स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढाइएको छ । गत वर्ष मध्यपहाडी लोकमार्गको आँगाखेत, जिरो किमिदेखि ओदाहसम्म झन्डै ८ सय मिटर सडक ग्राभेल गरिएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयको १ करोड रुपैयाँ लागतमा अहिले सडक स्तरोन्नतिसँगै ग्राभेलको काम चलिरहेको छ ।
अहिले आँगाखेत बजारमा कटिङ गरी मेसिनरी वाल लगाउने काम भइरहेको छ । त्यस्तै ग्राभेलका लागि आवश्यक तयारी गर्न म्याला चौतारादेखि छरछरे, ओदाहदेखि म्याला चौतारा र छरछरेदेखि सानो खोलासम्म खसेका पहिरा पन्छाउने काम भइरहेको केसी निर्माण सेवा तथा गलकोट घुम्टे सप्लायर्सका सञ्चालक हुम थापाले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार बीचबीचमा ग्याविन वाल, मेसिनरी वाल, पक्की नालीबाट आएको पानी व्यवस्थित गर्न ह्युमपाइप जडानसमेत हुनेछ ।
मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा रहेको यस सडकले पर्यटकीय स्थल घुम्टे, पाण्डवखानी होमस्टे र ढोरपाटन पुग्ने पर्यटकलाई सहज हुनेछ । स्तरोन्नति र ग्राभेलको काम क्रमिक रूपमा अगाडि बढाउने लक्ष्यअनुरूप सडकलाई अहिले गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयले रातो किताबमा राखेको छ ।
अहिले ७.५ मिटर चौडाइ अनि पक्की नालीसहित ग्राभेलको काम भइरहेको छ । यस वर्ष सानो खोलासम्म सडक स्तरोन्नति हुनेछ । त्यसपछि आउने बजेटबाट सानो खोलादेखि क्रमशः सडक फराकिलो पार्ने र ग्राभेलको काम अघि बढाइने गलकोट–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले बताए । सडक विकासको मुख्य पूर्वाधार भएकाले यसलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनाको भनाइ छ ।



















































































































































































































