२१ बैशाख २०८१, शुक्रबार

 

गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु

गलकोटमा आजदेखि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ ।गलकोट नगरपालिका–५ टेउवामा आयोजित कार्यशालाको भव्य समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मुख्यमन्त्री गुरुङले अनकन्टार वस्तीमा अन्तर्राराष्टिय स्तरको यस्तो कार्यक्रम हुनु सुखद विषय भएको बताएका छन् ।

लमजुङको घलेगाउँ जस्तो गलकोटको टेउवा पर्यटकीय हव बन्न सक्ने उनको भनाइ थियो । संघीयता केही खर्चिलो र महँगो भए पनि तीव्र गतिमा समृद्धि हासिलका लागि अपरिहार्य कदम भएको उनले बताए ।

ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्यसहित गलकोट कला प्रतिष्ठान बागलुङले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो ।

कार्यशाला १५ दिनसम्म निरन्तर चल्ने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।अन्तर्राष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ ।

कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्र समेत बन्नेछ ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनेछन् । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्