१६ कार्तिक २०८३, आईतवार

 

वडाध्यक्ष नै भारतीय नागरिक !

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा एकजना वडाध्यक्षविरुद्ध उजुरी परेको छ । रामगोपालपुर नगरपालिका–१ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

स्थानीय हरिश्रन्द ठाकुरले उजुरी दिएका हुन् । उनका अनुसार कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालयमा एक महिना अघि उजुरी दिएपछि अहिलेसम्म कारबाही प्रक्रिया अगाडी बढाइएको छैन् ।

स्थानीय तहको चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित चौधरी भारतको सीतामढी जिल्लाको सिरसिया बजारका बासिन्दा भएको उजुरीकर्ता ठाकुरको दाबी छ। ठाकुरले प्रशासनमा पेस गरेका प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता सूचीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम छ।

फर्जी कागजात पेस गरेर नेपाली नागरिकतासमेत लिएका वडाध्यक्ष चौधरी सन् २०१९ मा सम्पन्न भारतको लोकसभा चुनावमा समेत भोट हालेको प्रमाणसमेत उजुरीकर्ताले ठाकुरले प्रशासनमा उपलब्ध गराएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उजुरी परेको स्वीकार गर्दै त्यस विषयममा अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । उनले भने, ‘उजुरी परेकाले  हामीले अनुसन्धान सुरू गरेका छाैँ, केही दिनमा बाँकी कुरा थाहा पाउनुहुन्छ।’

‘वडाध्यक्षसँग बयान लिनेकाम भएकाे छ, स्थानीय सरकार र प्रहरीले अनुसन्धान अगाडी बढाएर भारतबाट विवरण झिकाउने प्रक्रिया थालनी भएकाे छ, खत्रीले भने, ‘पुष्टि भए खारेजी र कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung