प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुनु एक दिनअगाडि ग्रान्डी अस्पताल पुगेर दुर्घटनामा घाइते माले महासचिव सीपी मैनालीलाई भेटे । माओवादीसँग मिलेर नेकपाका अध्यक्ष बनेका ओलीले कुनै बेला सीपीलाई पार्टी एकीकरणका लागि छेउ पर्नसमेत दिएका थिएनन् । मैनाली एक्लै माले पार्टी चलाएर बसेका छन् ।
अहिले तिनै सीपीलाई भेटेर ओलीले आफूलाई उच्च संवेदना भएको राजनीतिज्ञका रूपमा प्रस्तुत गरे । उनै सीपीसँग माले पार्टी बनाएर पुनः माउ पार्टी एमालेमा फर्किई वर्तमानमा नेकपासम्मको सहयात्री बनेका वामदेव गाैतमको सन्दर्भमा भने ओली अनुदार बनिदिए ।
ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना भएका छन् । प्रतिपक्षदेखि सबैले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । सम्भवतः प्रत्यारोपण भइसकेपछि नेकपाका उच्च तहका नेताहरू भेट्न अस्पताल पुग्नेछन् । पार्टी उपाध्यक्ष गौतम पनि पुग्लान् नै। त्यति बेला प्रधानमन्त्री ओलीले कसरी आभार प्रकट गर्लान् ?
गाैतमकै कारण पार्टी अध्यक्ष हुँदै ओली प्रधानमन्त्री बन्न सफल रहे । तर यति बेला उनै गाैतमप्रति ओली अनुदार मात्र हाेइन, असहिष्णु रूपमा प्रकट भए । गाैतमलाई पार्टी उपाध्यक्ष बनाए पनि उनको हैसियत के भन्ने कुरालाई प्रधानमन्त्री ओलीले व्यवहारमा प्रकट गरिदिएका छन् । महत्त्वाकांक्षी र अडान नभएका व्यक्तिका रूपमा गाैतमलाई सिद्ध गरिदिए ।
हुन त गाैतम महत्त्वाकांक्षी व्यक्ति नै हुन् । कुनै बेला पार्टीले छोइछिटो बारेको अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रकहाँ पुगेर दसैंकाे टीका थापे । त्याे पनि उनकाे मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने गुप्ता आकांक्षाकै उपज थियाे ।तर उनी राजाकाे विश्वासपात्र बन्न सकेनन् ।
यसपछि उनै गाैतम माओवादीहरूसँग सामीप्य बनाएर राजनीतिमा आफ्नो हैसियत कायम गराउन लागिपरे । ०६३ अघि लोकेन्द्रबहादुर चन्दको सरकारमा गृहमन्त्री रहँदा उनले नै आतंककारी विधेयक ल्याएर माओवादी आन्दोलन निस्तेज पार्न चाहेका थिए । त्यसैले गाैतम पद र प्रतिष्ठाका लागि अस्थिर बनिरहेका पात्र हुन् भनेर बुझ्दा अन्यथा नहाेला । उनकाे अस्थिरता यसपालि फेरि प्रकट हुन पुग्याे । जसरी ज्ञानेन्द्रले उनकाे चाहना बुझेर पनि सिद्ध हुन दिएनन्, ओलीले पनि ठीक त्यसै गरी निस्तेज पारिदिए ।
गाैतमविरुद्ध ओलीले आयातित टेक्नोक्रेट मन्त्री युवराज खतिवडालाई ढाल बनाए । राष्ट्रिय सभा सदस्य हुँदै मुलुकको सर्वाेच्च कार्यकारी पदसम्म पुग्ने गाैतमकाे चाहनालाई उनले फेरि एकपटक निष्प्राण साबित गरिदिएका छन् । उनले पार्टी सचिवालयले गरेको निर्णयसमेत लागू गरेनन् । फागुन २० भित्रै मन्त्रिपरिषद्ले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि सिफारिस गर्नुपर्ने भए पनि त्यसाे नगरी प्रधानमन्त्री अस्पताल हिँडेपछि गाैतमकाे चाहना केटाकेटीको खेलजस्तै बन्न पुगेको छ ।
गाैतम नेपालको सत्ता इतिहासबारे भने यसपटक पनि अनभिज्ञ देखिए । जसरी राणा प्रधानमन्त्री चन्द्रशमशेरका मुख्तियार रहेका मोहनशमशेरले रोलक्रमअनुसार पद्मशमशेरलाई श्री ३ मा विराजमान् गराए तर त्यसरी नै पदच्यूत गर्न आतुर रहे । त्यही शैलीमा गाैतमलाई अघि ल्याएर ओलीलाई पदच्यूत गराउन चाहेको सन्देश ओलीसमक्ष प्रस्तुत भएको छ । त्यो सन्देश प्रस्तुत गर्ने पात्र अरू कोही नभएर भूमिगत कालमा एउटै कार्यक्षेत्रमा राजनीति गरी अहिले भैँसेपाटी हाइटमा छिमेकी बनेका महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा नहाेलान् भन्न सकिँदैन ।
त्यसैले इतिहासका घटनाबारे धेरथाेर जानिफकार ओलीले आफ्नाे कार्यकालमा इतिहासको पुनरावृत्ति नहोस् भनेर सचेतता अपनाएको बुझ्न सकिन्छ । त्यसका लागि उनले मन्त्री खतिवडालाई निरन्तरता दिएर वामदेवलाई पन्छाउन चाहे । गाैतमलाई मात्र नभएर आफ्ना विरुद्ध मोर्चा कसेका सबैलाई ओलीले आफू पद्मशमशेर नभएर चन्द्रशमशेरकै हैसियतमा सत्ता चलाउन काबिल छु भन्ने स्पष्ट सन्देश प्रवाह गरेका छन् । अस्पताल जानुअघिको भिडियो सम्बोधनमा पनि त्यो छनक पाइन्छ । ओलीविरुद्ध मोर्चा कसेर प्रतिनिधिसभामा पराजित वामदेवकाे चोर बाटोबाट भए पनि कार्यकारी प्रमुख बन्ने सपना फेरि एकपटक ‘माछो–माछो भ्यागुतो’ भएको छ ।
यही सन्दर्भमा भारतीय इतिहास स्मरण गर्नु उचित हाेला । प्रधानमन्त्री इन्दिरा गान्धीले सत्ताकाे शक्ति–उन्मादमा सन् १९७५ मा संकटकाल लगाइन । त्यसपछि भएकाे निर्वाचनबाट सन् १९७७ मा माेरारजी देसाईको नेतृत्वमा सरकार बन्याे । उक्त सरकार बीचमै ढलेपछि जयप्रकाश नारायणले सम्भावित प्रधानमन्त्रीकाे नयाँ अनुहार खाेजी गरिरहँदा समाजवादी नेता जगजीवन रामलाई भेटका लागि दिल्ली बोलाएछन् । जयप्रकाश नारायण त्यस बेला भारतीय राजनीतिका धराेहर थिए । उनी दिल्लीको दिनदयाल मार्गस्थित ‘गान्धी पिस फाउन्डेसन’मा बस्थे ।
पटक–पटक मन्त्री भएका राम प्रधानमन्त्रीबाहेक अन्य मन्त्रालय सम्हालेका अनुभवी राजनीतिज्ञ थिए । उनी दलित थिए । जयप्रकाशका स्वकीय सचिवलाई रामलाई प्रधानमन्त्री बनाउने निर्णय मन परेको रहेनछ । राम बोलावट भएको समयमै गान्धी पिस फाउन्डेसन पुगेछन् । तर, स्वकीय सचिवले जयप्रकाश आराममा रहेकाे र कोही आए पनि नबोलाउनू भनेकाे भनी बहाना गरिदिए । घन्टाैं कुर्दा समेत जयप्रकाशलाई भेट्न नपाएपछि उनी फर्किए । पछि जयप्रकाशले साेध्दा पनि सचिवले उनलाई काेही भेट्न नआएको भनी ढाँटिदिए । याे सुनेर जयप्रकाशलाई रामप्रतिकाे विश्वास उड्याे । साेचे– बोलाउँदा त नआउनेले प्रधानमन्त्री बनेपछि झन् के टेर्ला ?
उनले चौधरी चरण सिंहलाई प्रधानमन्त्री बनाए । आजीवन समाजवादी कित्तामा रहेका राम इमानदार र आज्ञाकारी हुँदाहुँदै पनि स्वकीय सचिवकाे दुर्नियतिले गर्दा प्रधानमन्त्री हुन पाएनन् ।
यसपटक गाैतमकाे हकमा पनि संयोगले त्यस्तै घटना पुनरावृत्त भएको अनुमान गर्न सकिन्छ । किनकि गाैतम प्रधानमन्त्री भएको देख्न नचाहने महासचिव पौडेल र सल्लाहकार थापा बालुवाटारका कर्ताधर्ता छन् । गाैतमले सोझै मनले प्रधानमन्त्री ओलीपछिको रोलक्रममा पर्न अपनाएको जुक्तिलाई उनीहरूले मन पराएका छैनन् । त्यसैले जयप्रकाश नारायणका स्वकीय सचिवजस्तै उल्लिखित बालुवाटारका कर्ताधर्ताहरूकाे भूमिकाले पनि गाैतमलाई पन्छाउन काम नगरेको होला भन्न सकिन्न ।













































































































































































































