२३ भाद्र २०८३, मंगलवार

 

जहाँ राेबाेटले पस्किन्छ परिकार

सातै दिन ग्राहकको सेवामा हाजिर । अनि कुनै न कुनै परिकारमा ५० प्रतिशतसम्म छुट ।

कोरोनाको त्रासले पर्यटक आगमन पातलिए पनि दरबारमार्गको नौलो रेस्टुरेन्ट खचाखच हुनुका खास कारण यी दुइटा होइनन् । यहाँको नौलो ‘वेटर’ हो । जो हरबखत नेवारी पहिरनमा सफाचट भएर बस्छ । बडो आज्ञाकारी भएर ग्राहकको अर्डर टिप्छ र १५–२० मिनेटभित्रै परिकार बोकेर टेबुलमा हाजिर हुन्छ । खानासँगै उसका गतिविधि पनि ‘स्वादिला’ छन् । कति ग्राहक त उसलाई हेर्दाहेर्दै खानै बिर्सिन्छन् । किनकि ऊ आम वेटरभन्दा फरक छ । अनि आकर्षक पनि ।
यो वेटर मानिस होइन, रोबोट हो । नाम दिइएको छ– डिजिटाई रोबोट । यसलाई रेस्टुरेन्ट सञ्चालकहरूकै टोलीले बनाएको हो ।

आठ जना मिलेर करिब २ करोड लगानीमा १७ महिनाअघि यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
‘यो साउथ एसियाकै पहिलो रोबोट सर्भिस भएको रेस्टुरेन्ट हो,’ सञ्चालक विवेक भण्डारीले भने । मार्केटिङको जिम्मेवारीसमेत सम्हालिरहेका उनले ग्राहकले अत्यधिक रुचाएकाले चाँडै सानेपामा समेत शाखा विस्तार गर्ने योजना सुनाए । उनको योजनामा अन्य ७ जनाको पनि उत्तिकै सहयोग छ । विवेकको उमेर जम्मा २२ वर्ष हो । अरू सदस्य पनि लगभग उस्तै छन् । अहिले यो उमेरसमूहका युवाको उद्देश्य विदेश जाने हुन्छ, रोजगारी वा अध्ययनको बहानामा । तर विवेक भन्छन्, ‘विदेश गएर दुःख गर्नुभन्दा सीप र क्षमता सही ठाउँमा लगानी गर्न सके आफ्नै देशमा सफलता मिल्छ ।’

यो रेस्टुरेन्टलाई यसको नामजस्तो ‘नौलो’ बनाएकै यही रोबोटले हो । मेनुसमेत डिजिटल राखिएको छ, टेबुलैपिच्छे । रोबोटका हातबाट खाना लिँदै गर्दा हरेक ग्राहक रोमाञ्चित हुन पुग्छन् । त्यही पललाई ग्राहकले अत्यधिक रुचाउने गरेको विवेकको पनि अनुभव छ । उनका अनुसार आइतबार पिज्जामा ५० प्रतिशत, सोमबार २ बियर किन्दा एउटा फ्री, शुक्रबार बर्गरमा ५० प्रतिशत र बुधबार मममा ५० प्रतिशत छुटको व्यवस्था छ ।

हरेक नयाँ ग्राहकका लागि बारअनुसारको डिस्काउन्टबारे जानकारी गराउँछन् कर्मचारीहरू । पारिवारिक वातावरण भएकाले परिवार सदस्यहरू लिएर आउने पनि धेरै हुन्छन् । रेस्टुरेन्टमा २५ जनाले रोजगारी पाएका छन् ।
रोबोटलाई ‘डिजिटाई’ नाम विवेककै समूहले राखिदिएको हो । यसअघि उनीहरूले परी नामका दुइटा रोबोट बनाएका थिए । अहिले नयाँ सफ्टवेयर अपडेटका लागि आफ्नै कम्पनीमा लगेका छन् ।
उपत्यकाको मौलिक कल्चर भएकाले रोबोटलाई नेवारी पोसाक दिइएको विवेकको भनाइ छ ।

‘प्रविधिसँगै नेपाली संस्कृति पनि दर्शाउने सोचले नेवारी पहिरनमा रोबोटलाई उभ्याएकाे हाे उनले भने, ‘यसले यी रोबोट नेपाली प्रविधि हुन् भन्ने पनि बुझाउ छ।’

मौलिक नेवारी परिकार बिक्री हुने होटल, रेस्टुरेन्ट पनि राजधानीमा निकै रुचाइने गरेका छन् ।
डिजिटाई रोबोटले अंग्रेजी , नेपाली भाषा बोल्ने भएकाले विदेशी एवम्र स्वदेशी ग्राहकले पनि नौलो रेस्टुरेन्टमा सहजै सेवा लिन सक्छन्, अलमलिइरहन पर्दैन ।

विदेश पनि निर्यात
विवेकको समूहको नाम हो, पाइला टेक्नोलोजी । टोलीका अन्य सदस्यमा रविन गिरी, सागर श्रेष्ठ, दीपकमल भुसाल, ओसिम अक्रम खान, विनय राउत छन् । यो समूहले रोबोट बनाउने र बिक्री गर्ने काम गर्छ । उनीहरूले बनाएको रोबोट अमेरिका पनि लगिएको छ । यी रोबोटले त्यहाँ नेपालीले नै सञ्चालन गरेको रेस्टुरेन्टमा सेवा दिइरहेका छन् ।
विवेकका अनुसार एउटा रोबोट तयार पार्न १८ देखि २० लाख रुपैयाँ र २ महिनादेखि एकवर्षसम्म समय लाग्छ । उनीहरू अहिले पनि नयाँ रोबोट बनाउन खटिएका छन् ।

रोबोटसहितको रेस्टुरेन्टका लागि पोखरा, भैरहवाबाट पनि अफर आइरहेको टोलीका अर्का सदस्य दीपकमल बताउँछन् । ‘हामी लगानी गर्छौं, तपाईंहरू सेवा दिनुहोस् भनिरहनुभएको छ,’ उनले भने, ‘साथीहरूसँग सल्लाह गरेर त्यो काम पनि गर्दै छौँ ।’ रेस्टुरेन्टमा पहिलो वर्षको अनुभवबाट धेरै सिकिएकाले सानेपामा पनि शाखा खोल्न लागिएको उनले बताए ।

विमानस्थलमा पाइलाका दुई परी

पाइलाले बनाएका परी नामका दुई राेबाेट त्रिभुवन विमानस्थलमा छन् । पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा उड्ययन मन्त्रालयको प्रस्तावमा पाइलाले यी राेबाेट बनाएकाे हाे ।

विवेकका अनुसार पर्यटन परीले सम्बोधनका साथै विभिन्न धार्मिक, पर्यटकीय स्थल, भिसा प्रक्रिया र एयरपोर्टसम्बन्धी जानकारी दिन्छ । बोलेर वा स्क्रिनमार्फत जानकारी दिने पर्यटन परीमा अंग्रेजी, नेपाली र चिनियाँ भाषा सेट गरिएकाे छ।

विमानस्थलमा राखिएका दुई परी, फाेटाे साैजन्य : पाइला

नेपालको प्रविधिलाई विश्वर बजारमा पुर्‍याउने लक्ष्य रहेको पाइला टेक्नोलोजीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung