१५ कार्तिक २०८३, शनिबार

 

उपत्यका भित्रिनेभन्दा बाहिरिने धेरै

भारत, हरियाणाका रणजित अराेरा  काठमाडौंबाट भारत फर्किने तयारीमा छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रास उपत्यकामा पनि देखिएपछि पछिल्ला दिनमा राजधानी काठमाडौं छोड्ने क्रम बढेकाे छ ।

उनले  पनि त्यही समयकाे फाइदा उठाउँदै केही समयका लागि उपत्यका छाड्न लागेका हुन् । भारत सरकारले समेत अन्तर्राष्ट्रिय आगमन बन्द गरेका बेला उनी छिमेकी नेपालसँगको खुला नाकाको फाइदा उठाउँदै भारत लागेका हुन् । उनी दिल्ली–काठमाडाैं बसबाट शुक्रबार (आज) त्यसतर्फ जानेछन् । नाति र नातिनाकाे स्कुल पनि बन्द भएकाेले उनी केही समयका लागि फर्किन लागेका हुन् । उनीजस्तै हजाराैं मानिस काेराना कहरका कारण राजधानी उपत्यका छाड्ने तयारीमा छन् ।

सरकारले कोरोना महामारीका कारण उच्च सतर्कता अपनाउँदै स्कुल तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । २५ जनाभन्दा धेरै जम्मा हुन पनि रोक लगाएको छ ।

ट्राफिक प्रहरीका अनुसार बिहीबार मात्र उपत्यकाबाट १ लाख ८ हजार ४ सय ५८ जना बाहिरिएका छन्। ८३ हजार मानिस काठमाडौं उपत्यका प्रवेश गरेका छन्। बिहीबार काठमाडौंका विभिन्न नाकाबाट १८ हजार ५ सय ५४ सवारी साधान बाहिरिएका थिए भने १५ हजार १ सय ४० सवारीसाधन भित्रिए । सरकारले यस अवधिमा एसईई लगायतका सम्पूर्ण परीक्षा बन्द गरेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार मंगलबार ९१ हजार ८ सय १६ जनाले काठमाडौं उपत्यका छोडेका थिए भने ९० हजार काठमाडौं प्रवेश गरे । सोमबार काठमाडौं उपत्यका छोड्ने मानिसको संख्या ८८ हजार २ सय १ थियो। सोही दिन ९२ हजार १ सय ९ जना मानिस काठमाडौं प्रवेश गरेका थिए।

आइतबार ८७ हजार ३ सय २७ जना मानिस काठमाडौंबाट विभिन्न जिल्ला गएका थिए। सोही दिन ९३ हजार उपत्यका भित्रिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung