सरकारले जेठ १ देखि आवतजावतलाई थप कडाइ गर्ने भएको छ । तीन दिनयता संक्रमित संख्या बढ्दै गएपछि गृह मन्त्रालयले थप कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
जेठ १ देखि यसअघि दिइएका पास खारेज गरिएको छ’, गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले भने, ‘एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिइएको पास खारेज गरिएको हो ।’
कोही बाहिर जान चाहे मनासिब कारण देखाएर दुवै जिल्लाको अनुमति लिनुपर्ने उनले बताए । तर काठमाडौं उपत्यकाको हकमा यो लागू हुनेछैन।सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधारमा हिँड्डुल गर्न सक्नेछन् ।
ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिनेछ । निजी संस्थाको हकमा नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिँड्न पाइने भएको छ । जस्तै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गरेको पास आवश्यक पर्नेछ ।
नेपाल टेलिकम वा एनसीएलका कर्मचारी नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पासले हिँड्न पाउँछन् । अत्यावश्यक सेवाका लागि कुनै प्रावधान लागू भएको छैन । सञ्चार माध्यमहरूले भने सूचना विभागको कार्ड प्रयोग गर्न सक्नेछन् ।



















































































































































































































