४ श्रावण २०८३, सोमबार

 

इलेक्ट्रिक गाडीमा पनि भन्सार र अन्तःशुल्क

सरकारले इलेक्ट्रिक गाडीमा भन्सारसँगै अन्तःशुल्क लगाउने घोषणा गरेपछि ती गाडी पनि महँगो हुने भएका छन् । सरकारले इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको छ भने गाडीको क्षमता किलोवाट अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ।

नेपालमा इलेक्ट्रिक गाडीको कारोबार गरेका एक व्यवसायीले भने, ‘मध्यम क्षमता ९१५० किलोवाट० भन्दा माथिका सबै गाडीको मूल्य अब करिबकरिब पहिलेभन्दा दोब्बर हुन्छ।’ नेपालमा सबैभन्दा बढी बिक्री हुनेमध्येका १०० देखि १५० किलोवाट क्षमताभित्रका कोना र निरोको मूल्य अब १ करोड १० लाख माथि पुग्ने अनुमान ती व्यवसायीले गरे।

त्यसैगरी नेपालमा राम्रै बिक्री भइरहेको एमजीको इलेक्ट्रिक गाडी पनि ८० देखि ९० लाख हाराहारी पुग्ने उनले बताए। ‘हामीले सबै क्यालकुलेसन गरेका त छैनौं, तर मूल्य पहिलेभन्दा दोब्बर हुने सम्भावना छ,’ उनले भने।

सरकारले इलेक्ट्रिक गाडीमा लगाउँदै आएको १० प्रतिशतको भन्सारलाई यसपटक बजेटबाट बढाएर ८० प्रतिशत पुर्‍याएको छ। तर यसरी लगाएको ८० प्रतिशत भन्सारमध्ये ५० प्रतिशत सरकारले फेरि रिवेट दिने भएको छ।

यसरी रिवेटलाई घटाउँदा इलेक्ट्रिक गाडीको इफेक्टिभ भन्सार ४० प्रतिशत हुनेछ । त्यसबाहेक सरकारले बजेटमा किलोवाट क्षमताका हिसाबले ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ।

पहिलो ५० किलोवाटदेखि सय किलोवाटसम्म ४० प्रतिशत, त्यसै गरी १०० देखि १५० किलोवाटसम्म ५० प्रतिशत, १५० देखि २०० किलोवाटसम्म ६० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्म ७० प्रतिशत र तीन सय किलोवाटदेखि माथि ८० प्रतिशत अन्तःशुल्क लगाइएको छ।

मानौं ५० लाख रुपैयाँ खरिद मूल्य पर्ने १०० किलोवाटदेखि १५० किलोवाट क्षमताको कुनै इलेक्ट्रिक गाडी छ भने अब त्यसले सुरुमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ। त्यसपछि जोडिएको मूल्यमा अर्को ५० प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ। यसरी जोडिएर आउने मूल्यमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ। भ्याटसहितको मूल्यबाट सडक दस्तुरलगायतका लागि झन्डै ५ प्रतिशत शुल्क तिर्नुपर्छ।

जति बढी क्षमताको गाडी हुन्छ, अन्तःशुल्क पनि त्यति नै महँगो हुँदै जान्छ। ‘यसले अब डिजेल–पेट्रोलबाट चल्ने र इलेक्ट्रिक गाडीको मूल्यमा खास ठूलो अन्तर हुँदैन,’ एक व्यवसायीले भने।

इलेक्ट्रिक गाडीको यसै पनि डिजेल–पेट्रोलको गाडीभन्दा उत्पादन लागत महँगो हुन्छ । त्यो लागतको हिसाबमा अहिलेको कर तिर्दै जाँदा उस्तै खाले दुवै गाडीको मूल्यमा खास फरक नपर्ने ती व्यवसायीले बताए ।

‘जसरी सरकारले इलेक्ट्रिक गाडीमा मूल्य बढाएको छ, यो क्लिन इनर्जी पोलिसीविरुद्ध भयो, सरकारले आफैंले घोषणा गरेको नीति तथा कार्यक्रमविपरीत भएको छ,’ एक व्यवसायीले भने । त्यसबाहेक सरकारले हाइब्रिड गाडीमा दि“दै आएको सुविधा भने पूरै उल्ट्याइदिएको छ।

यसअघि इलेक्ट्रिकबाट स्टार्ट भएर केही समय चल्ने तथा इलेक्ट्रिक ब्याकअप नहुँदा पेट्रोल–डिजेलले चल्ने हाइब्रिड गाडीमा सरकारले भन्सार तथा अन्तःशुल्कमा राहत दिँदै आएको थियो । तर अब यो व्यवस्था पूरै खारेज भएको छ । अब हाइब्रिडले पनि डिजेल–पेट्रोलसरह नै भन्सार, अन्तःशुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung