क्वारेन्टाइनमा लैजाँदै गर्दा कुस्मा नगरपालिका–८ मा पर्ने चुवाको भिरबाट हामफालेका एक युवकको मृत्यु भएको छ । गम्भीर घाइते भएका बाग्लुङ नगरपालिका–१३ का ३९ वर्षका चन्द्रबहादुर नेपालीको उपचारका लागि पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
उनी सोमबार बिहान पोखरा–बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भिरबाट हामफालेका थिए । सुनौलीबाट उद्धार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भिरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
लु२ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिक भारतबाट फर्केपछि क्वारेन्टाइनमा बस्न जाँदै थिए । पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो ।



















































































































































































































