सरकारले लकडाउनका कारण रोकिएका सार्वजनिक सवारीसाधन पुनः चल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी खुला गर्दै बाहिर पनि जिल्लाभित्र चलाउन पाइने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत अर्थ र सञ्चामन्त्री डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । उनले काठमाडौं उपत्यकामा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय भएको बताए ।
उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारको निर्णय छ । कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरसम्म सार्वजनिक सवारी आउजाउ गर्न पाउनेछन् ।
सञ्चारमन्त्री खतिवडाका अनुसार एक पंक्तिको एक सिटमा एक जना हुने गरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइनेछ । सवारी चालक र सहचालकले मास्क, सेनिटाइजर, भाइजर र पन्जा अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । गाडीलाई दैनिक निःसंक्रमित गरेर मात्र गुडाउनुपर्ने उनको भनाइ छ । सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित दरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । सरकारले मध्यम तथा लामो दूरीका यातायात बन्द गर्ने निर्णय भने कायमै राखेको छ ।













































































































































































































