१५ कार्तिक २०८३, शनिबार

 

‘अब पत्रकारले आफ्नै समस्याबारे बोल्नुपर्ने बेला आएको छ’

नेपाल पत्रकार महासंघ बागलुङ शाखा स्थापना भएको २० वर्ष पूरा भएको छ । स्थापना दिवसका अवसरमा बिहीबार शाखाले आफ्नो नवनिर्मित भवनको सभाकक्षमा पहिलोपटक अन्तरक्रिया ग¥यो ।

कोरोना कहर र पत्रकारका चुनौती विषयक अन्तरक्रियाका सहभागीले मानव जीवनकै कठिन संकट मानिएको कोरोना पत्रकारका लागि पनि नयाँ चुनौतीका रूपमा देखिएको बताए ।

कोरोना संकटले सञ्चारमाध्यमका आम्दानीको स्रोत ठप्प भएको र धेरै सञ्चारसंस्थाले पत्रकार कटौती गर्न थालेको भन्दै उनीहरूले सरकार र पत्रकार महासंघलगायतले पेसागत सुरक्षाको ग्यारेन्टी गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

कोरोनाको तीव्र जोखिम र संकटका बीच अझ बढी जिम्मेवारी बहन गरिरहेको अवस्थामा पत्रकारलाई थप सेवा, सुविधा र अवसर सिर्जना गर्नुपर्नेमा विभिन्न बहाना बनाएर दबाबमूलक हिसाबले बिदाइ गर्ने कार्य आपत्तिजनक भएको सहभागीको भनाइ थियो ।

स्थानीय सरकारले संकटका बेला मिडियाकर्मीको वृत्ति विकास, पेसागत सुरक्षा र सञ्चार माध्यममा विशेष सहयोग प्याकेज ल्याउनुपर्ने उनीहरूले बताए ।महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले छलफलको मुख्य विषय प्रस्तुत गरेको थियो । पत्रकारविनाको संसार हामीले  कल्पना गर्न सक्छौ ? लकडाउनपछि आएको आर्थिक मन्दिले देशव्यापीमा रुपमा धेरै पत्रकारले आफनो रोजगारी गुमाउनु परेको पूर्वअध्यक्ष राजभण्डारीले बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, रामबहादुर जीसी, कान्तिपुर दैनिकका प्रकाश बराल, नेपाल टेलिभिजनका किरण आचार्य, ईनेपाल खबरका सज्जनकुमार सिंह र नागरिक दैनिकका संगम घर्तीलगायतले संकटमा पत्रकारप्रतिको अपेक्षा र जिम्मेवारी बढे पनि मिडिया सञ्चालकको गैरजिम्मेवारीपनले चुनौती थपिँदै गएकोमा चिन्ता व्यक्त गरे । अरू समस्यामा परेको समाचार लेख्ने पत्रकारहरूले अब आफू र आफ्ना समस्याबारे बोल्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले मिडिया र मिडियाकर्मीले पूर्वाग्रहमुक्त भएर तथ्य र सत्यको साथमा कलम चलाउनुपर्ने बताए ।

‘मिडियाले आफूलाई प्रतिस्पर्धी बनाउनु अपरिहार्य छ । मिडिया र मिडियाकर्मीका बीचमा पनि यथेष्ट समन्वय आवश्यक छ,’ उनले भने, ‘यसमा नगरपालिकाका तर्फबाट आवश्यक सहयोग हुनेछ ।’

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले पत्रकारले आमनागरिकलाई संकटका बीच पनि सत्यतथ्य सूचना सम्प्रेषण गर्न खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरे, नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, जनता समाजवादी पार्टीका नेता यामबहादुर घर्ती, बागलुङ उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष थानेश्वर सुवेदी, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष मञ्जु क्षत्रीलगायतले सशस्त्र द्वन्द्व, शाही शासन, नाकाबन्दीलगायत कठिन घडीमा पनि पत्रकारले निर्भीक भएर आवाज उठाएको स्मरण गर्दै अहिलेको संकटमा पनि विचलित नहुन र परिस्थितिको सामना गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विजय रानाले नवनिर्मित भवनको हालसम्म हिसाबकिताव सार्वजनिक गरे । भवन निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारदेखि सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व र पत्रकारबाट ९० लाख १० हजार २ सय ७६ रुपैयाँ संकलन भएकोमा ९७ लाख ९१ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको विवरण उनले प्रस्तुत गरे ।

अपुग रकम स्थानीय सरकार र सामाजिक संघसंस्थासँगको सहकार्यमा तालिमलगायत कार्यक्रमबाट बचत गरी व्यवस्थापन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।पत्रकार महासंघको बागलुङ शाखा २०५७ असार २५ गते स्थापना भएको हो ।कार्यक्रमको संचालन सचिव राम थापा अविरलले गरेको थियो ।

तस्वीर : सुभाष गौतम

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung