रोजगारीका लागि विदेश गएपछि बेपत्ता भएका भएका बागलुङका एक युवक १७ वर्षपछि घर पुगेका छन् । बागलुङ नगरपालिका–३ मूलपानीका ३५ वर्षीय नगेन्द्र पन्तलाई मानव सेवा आश्रमले घर लगिदिएको हो । सत्र वर्षपछि घर फर्किएका बागलुङ नगरपालकिा–३ मूलपानीका ३५ वर्षीय नगेन्द्र पन्त परिवारका साथ ।
रोजगारीका लागि २०६० सालमा कोरिया पुगेका पन्त एक वर्ष नपुग्दै परिवारसँग सम्पर्कविहीन भएका थिए । काठमाडौंको सडकमा अलपत्र भेटिएपछि उनलाई आश्रमले संरक्षणमा लिएको थियो ।मानव आश्रम सेवा बागलुङ शाखामा ५ महिना बसेपछि उनले आफ्नो घर बागलुङकै मूलपानी रहेको बताए ।
त्यसपछि आश्रम सञ्चालक सुमीरा लामाले उनलाई घर लगिदिएकी हुन् ।हराएको छोरो सत्र वर्षपछि फर्केर आउँदा परिवारमा खुसी छाएको छ । ‘हामीले आस मारिसकेका थियौं, कसरी आइपुग्यो, भगवान्ले ल्याए होला,’ आमा रूपाले भनिन्, ‘घरसम्म ल्याइदिने नै मेरा भगवान् हुन् ।’ उनी आएको देखेर छिमेकी र परिवारका सदस्य पनि आश्चर्यमा परेका छन् ।
पन्त उनी कोरियाबाट कसरी फर्किए र किन बेपत्ता भए भन्नेबारे अझै केही खुलाउन चाहँदैनन् । गत माघमा काठमाडौंको सडकमा अलपत्र भेटिएपछि उनलाई आश्रम सञ्चालकले ल्याएर राखेका थिए ।
‘धेरै नबोल्ने, घर ठेगाना पनि नबताउने भएपछि आश्रममा राखेका थियौं,’ लामाले भनिन्, ‘इमानदार देखेर पारिश्रमिक दिई आश्रममै रोजगारी दिन खोज्दा मेरो घर यहीँ हो भनेर बताउनुभयो ।
’पन्त घर पुग्दा उनका पिताको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका एक भाइ छन् । लामो समयपछि घर फर्केकाले पन्त अहिले बाबुको काजक्रियामा बसेका छन् ।
आश्रममै तमानखोला–२ बुंगादोभानका ५५ वर्षीय अर्का व्यक्ति पनि छन् । उनको परिवारका सदस्यसँग सम्पर्क भएपछि घर पठाउने तयारी भएको लामाले बताइन् ।
आश्रममा अहिले ६ बालबालिकासहित ४० जना आश्रित छन् । आश्रममा सडकमा अलपत्र भेटिएका, अपांग, असहायलाई राख्ने गरिएको छ । आश्रमका बालबालिकालाई विद्यालयमा भर्ना गरेर पढाउने व्यवस्था पनि गरिएको छ ।



















































































































































































































