निरन्तर परेको वर्षासँगै आएको पहिरोले गलकोट नगरपालिका वडा नं ७ मल्म आरान टोलमा ३ घर उच्च जोखिममा परेका छन । घरको आँगनबाट पहिरो खसेपछि लक्ष्मण सुनार, मन बहादुर विक र अंकित विकको घर जोखिममा परेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।
लक्ष्मण सुनारको केही हप्ता पहिले साउदी अरबमा निधन भएको थियो । लक डाउनको कारण शव समयमै ल्याउन नसकिएको र अहिले शव नेपाल लिएर अन्तिम संस्कारपछि परिवार काजक्रियामा बसेको वडा अध्यक्ष थापाले बताए ।
घरको अगाडी र आडबाट पहिरो खसेपछि सुनारको परिवारलाई थप पीडा थपिएको वडा सदस्य लोक बहादुर थापाले भने । हामीले स्थलगत अवलोकन गर्यौं घरहरु पहिरोले जोखिममा परेका छन् सम्बन्धित निकायमा यसको लागि आवश्यक पहलकदमी अगाडि बढाएका छौं वडा सदस्य थापाले भने ।
घर माथिबाट पहिरो खसेपछि मन बहादुर विक र अंकित विकको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । उता गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारे गाउँमामा साजन परियारको घरमा पहिरो खस्दा घरको गारोमा क्षति पुगेको समाजसेवी डिल बहादुर परियारले जानकारी दिए । घरमा बस्न जोखिम भएकोले परियारको परिवार छिमेकमा बसेका छन् ।



















































































































































































































