५ जेष्ठ २०८१, शनिबार

 

बेलायतमा बिरालोमा कोरोना

बेलायतको एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण देखिएको छ । विज्ञका अनुसार बेलायतमा घरपालुवा जनावरमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । यद्यपि यसको अर्थ घरपालुवा जनावरबाट मानिसहरूमा संक्रमण फैलिरहेको भन्ने नभएको उनीहरूको भनाइ छ ।

उक्त बिरालोमा त्यसका मालिकबाट संक्रमण भएको ठानिएको छ । यद्यपि अहिले मालिक र बिरालो दुवै कोरोनामुक्त भइसकेका छन् । स्वास्थ्य अधिकारीहरूले यो एकदमै विरल घटना भएको र चिन्ताको विषय नभएको बताएका छन् । यूकेकी प्रमुख भेटेरिनरी अधिकारी क्रिस्टिन मिडलमिसले भनिन्, ‘यो एकदमै विरल घटना हो।

संक्रमित घरपालुवा जनावरमा हल्का खालका लक्षण देखिएका थिए र केही दिनभित्र निको भयो।’पब्लिक हेल्थ इंग्ल्यान्डका स्वास्थ्य सुरक्षा निर्देशक इभान डोयल जनावरलाई छोएपछि र छुनुअघि नियमित रूपमा हात सफा गर्न मानिसहरूलाई सुझाउँछन् । उनका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आउने घरपालुवा जनावरको रौँमा भाइरस रहिरहन सक्छ ।

गत अप्रिलमा अमेरिकाको न्युयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । चार वर्ष उमेरको उक्त बघिनीबाट संकलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्