२३ बैशाख २०८१, आईतवार

 

कोरोनाले थप तीन जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६९ जना पुग्यो

पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

सुनौली घर भएकी ती महिलालाई पाठेघरको क्यान्सर रहेको र उनको शुक्रबार मध्याह्न ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै अर्का संक्रमित वीरगन्जका हुन् । उनको बिहीबार साँझ मृत्यु भएको बताइएको छ । डा. शर्माका अनुसार ती व्यक्तिमा मधुमेह र रक्तचापको समस्या रहेको थियो ।

स्टार अस्पतालमा छँदा कोरोना पोजेटिभ देखिएका उनलाई त्यहाँबाट पाटन रिफर गरिएको थियो ।त्यस्तै सिरहा, गोलबजारका २५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा बिहीबार राति ज्यान गएको हो । अस्पतालका अनुसार उनी दुई वर्षदेखि किड्नीका बिरामी थिए।

जनकपुर अस्पतालमा डायलसिस गराउँदै आएका उनलाई कोरोना देखिएपछि धरान रिफर गरिएको थियो। अस्पताल भर्ना गर्नेबित्तिकै उनको डायलासिस थालिएको थियो।

त्यही क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्