नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सम्मानित भएका छन् ।


राजभण्डारीले फोनिज गण्डकी प्रदेशद्वारा प्रदान गरिने ‘कञ्चन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका हुन्। पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अक्षयकोष दाता समाजसेवी विमलमान गुभाजूले उनलाई ताम्रपत्र, दोसल्ला र नगदले पुरस्कृत गरेका हुन् ।
संस्थाको २१औं स्थापना दिवसका अवसरमा धौलागिरि सञ्चार क्लबका अध्यक्ष एवं एभिन्युज टेलिभिजनका बागलुङ संवाददातासमेत रहेका राजभण्डारीलाई महासंघले सम्मानसहित २५ हजार नगद पुरस्कार प्रदान गरेको छ । राजभण्डारी एभिन्युज टिभीमा स्थापना काल( २०६४)देखि क्रियाशील छन् ।
राजभण्डारी २०४५ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले बागलुङ साप्ताहिक, ढोरपाटन दैनिक, आदर्श समाज दैनिक, सत्य साप्ताहिक, उषा साप्ताहिक, जनधारणा साप्ताहिक, जनादेश साप्ताहिक, साँघु साप्ताहिक, जनआस्था साप्ताहिक, स्पेसटाइम दैनिक, च्यानल नेपाल टिभीमा समेत काम गरिसकेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष एवं फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दिल श्रीषले पत्रकारितामा ३२ वर्षदेखि क्रियाशील राजभण्डारीले बागलुङको पत्रकारिता क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।
२०५४ सालमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापनाका लागि नेतृत्व गरेका राजभण्डारी विसं २०६१ पुष १५ गते धौलागिरि शाखाको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।



















































































































































































































