१६ कार्तिक २०८३, आईतवार

 

ढाेरपाटन बाढीपहिरो : जाे भाग्यले बाँचे तर बुबाआमा सधैंलाई छुटे

महेश विक, साँझ ५ बजेसम्म कहिले खोलामा त कहिले बाटोमा आउने जाने गरिरहेका थिए । उनको मुहारमा निराशाको मुस्लो दौडिरहेको थियो ।

उमेरले १२ वर्ष मात्र पुगेका महेशको मन नजिकै पहाडमा मडारिएकोे बादलभन्दा फरक थिएन । उनलाई देख्ने जो कहिले पनि, उनको मनमा छछल्किएको पीडाको सहजै अनुमान गर्न सकिन्थ्यो ।

हरेक दिन साँझ परेपछि गाउँमा भैंसीलाई घाँस दिन जानुपर्ने दैनिकी आज खलबलिएको थियो । बुधबार साँझ भैंसीलाई घाँस दिएर फर्किएका महेशलाई आज भैंसीले घाँससमेत खान पाएको छैन भन्ने पत्तै पाएका छैनन् ।

ढोरपाटन नगरपालिका–९ सानो कुगुमा थियो उनको पसल । बाबाले किराना पसल र माइलो बुबाले फेन्सी पसल राखेका थिए । महेशका बुबा हेमबहादुर र आमा दिलकुमारीले भैैंसीलाई घाँस दिन माइलो दाईको छोरीसँग बुधबार गाउँको गोठमा पठाए ।

भैंसीलाई घाँस दिन गएका उनीहरु राति भएपछि उतै सुते । बिहीबार बिहानमात्र घर झरे । बिहान घरमा झर्दा घरमाथि खोला बगिरहेको थियो । गाउँका केही मान्छे बाहेक कोही थिएनन् वरपर । उमेश भन्छन्, ‘यही वैशाखमा बनाएको घर हो हामीले काठबाहेक अरु केही देखेनौं ।’

‘घर भत्किए पनि बुबाआमा कतै गएर सुरक्षित रुपमा बस्नुभएको होला भन्ने आशा थियो, तर अहिलेसम्म पनि उहाँहरुलाई भेटाउन सकिएको छैन ।’ छोरी सुस्मिताले रुँदै भनिन्, ‘हामीभन्दा साना भाइ बहिनासहित परिवारमा ८ जना थियौं, हामीलाई उता पठाएर कहाँ जानुभयो भन्दै रुन्छिन् उनी ।

‘राति ठूलो पानी परेको थाहा थियो तर, घरसहित बुबाआमालाई बाढीले लगेको भन्ने हामीले सोचका पनि थिएनौँं’ भक्कानिदै उमेशले भने । बुबाआमाको कुरा गर्दा बित्तिकै भक्कानिने उनीहरु सहाराविहीन बनेका छन् ।

बाबुआमासहित परिवारका ८ जनालाई बुधबार राति आएको बाढीले बेपत्ता बनाएपछि उनीहरु अभिभावकबिहीन भएका छन् । अभिभावक गुमाएका उनीहरुलाई अझै पनि बाबुआमा आन्नुहुन्छ र खाना बनाएर दिनुहुन्छ भन्ने आशै छन् ।

‘साँझ पर्यो, खाने चामल र भाँडाकुडासमेत खोलाले बगाएर लगिदियो, केमा पकाएर खाने, कहाँ बस्ने’ उनका ठूलो बुबा भीमबहादुर भन्छन्, ‘भाइहरुको परिवार छुटिएको थिएन एकैठाउँमा फेन्सी र किराना पसल ग¥थे, भीमबहादुरले भने, ‘दैवले कहाँ लग्यो अत्तोपत्तो छैन कसरी बसौं ।’

उनलाई सरकार कुन पार्टीको छ भन्नेसमेत थाहा छैन । ‘भीमबहादुर भन्छन्, ‘चुनावमा भोट माग्न आउने र अरुबेला नआउने नेताहरुले के सहयोग गर्लान् र ।’

उनको यो आवज सुनिरहँदा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा र यसै क्षेत्रका सांसद देवेन्द्र पौडेल मौसम प्रतिकुलताका बावजुद पोखराबाट हेलिकोप्टर आउन नसकेपछि फर्किसकेका थिए ।

उनीहरु आउने र राहत पाउने आशमा बसेका केही स्थानीय पुरिएका घरबाट कुच्चिएका भाडा निकालेर साँझको खाना बनाउन ढुंगाले सोज्याउँदै थिए ।

तर, महेश र सुस्मिता भने साँझ परेपछि के खाने र कता बस्ने भन्ने एकिन थिएन, बरु कतैबाट बाबुआमा आइहाल्छन् कि भन्ने आशमै थिए । ‘उमेश भन्छन्, ‘मेरा बुबाआमा आउनुभएन भने, म एक्लो हुन्छु, मेरो पढ्न् धोका अधुरै रहन्छ । मलाई टुहुरो भन्छन् ।

त्यसैले भेटिनुहुन्छ कि भनेर खोलाको किनारमा गएको हुँ ।’ उनको घरमाथि खोला बगिरहेको छ । परिवारले लगाएका कपडाहरु नजिकैको किनारमा छन् । गाउँका स्थानीय भन्छन्, ‘हिजो लगाएको कपडा खोलाले फालिदिएको छ ।

राति सुत्ने र अछ्याउने कपडा चामल खोलाको किनारमै असरल्ल छन् । केही मानिस खोलाको किनारतिर आफन्त भेटिन्छन् कि भनेर हेर्दै थिए । तर, रात परेपछि आज आफन्त भेटिन्छन् कि भन्ने आश मरिसकेका छन् ।

यस्तै सानो कुगुबाट माथि झण्डै ३० जना बेपत्ता छन् । बेपत्ता भएकाहरुले लगाएका कपडा खोला किनारामा यत्रतत्र छरिएका छन् । कतै कतै क्षतविच्छेद अवस्थामा शवहरु फेला परेका छन् ।

बाढीले मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापधेरा, लाखुरीबोट, सानो कुगुलयातमा बढी क्षति भएको छ ।

सोही बाढीमा परेर दुनेपधेराकी ५८ वर्षीया तुलमति घर्ती पनि बेपत्ता छिन् । दाउरा संकलन गर्न गएकी उनी बाढीसँगै बेपत्ता भइन् । १७ वर्षीया सञ्जिता घर्ती भने घाइते अवस्थामा छिन् ।

घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदैछ । उनको घरसँगै जोडिएको असारी घर्तीको घर, गाईवस्तु भने खोलाले बगाएको छ ।‘राति १० बजे औषधि खानुपर्ने त्यतिबेला खोलामा थुनिएको थाहा पाएँ, उनले भनिन् ‘माइतबाट आउँछु भन्दा खोलाले पुल लगिसेकेको थियो माइततिरै फर्किएँ ।’

‘घरमा ठूला रुख र भैंसी आएर बसेका छन्, घरका लत्ताकपडा खानेकुरा केही छैन, बाढीबाट बाच्यौं, अब भोकले पो मरिन्छ होला, राहतको व्यवस्था गरिदिनुप¥यो ।’

बाढीमा परेर बाँचेकामध्ये एक हुन् परिचय घर्तीमगर । साथीहरुसँग सुतिरहेका उनी बाढी आएपछि घरको दलिनमा झुण्डिएर बाँच्न सफल भएको बताउँछन् । हामी दुई जना थियौं सुतेकै बेला खोला घरमा पस्यो, नदीले घर लगिसेकको थियो हामी केही छिन झुण्डिएपछि हाम फालेर बाँच्यौ ।’

यस्तै, राजकुमार विकले २५ वर्षीया श्रीमती र ७ वर्षीय छोरा गुमाएका छन् । राति सुतिरहेका बेला बाढी आएर भाग्न खोजेका राजकुमारका परिवारमध्ये श्रीमती र छोरालाई बाढीले बगाएको छ ।

राति ११ बजे सुरक्षित स्थानमा जान खोज्दा सँगै रहेका श्रीमती र छोरालाई बाढीले लगिसकेछ’ राजकुमारले रुँदै भने, ‘म र एउटा छोरो मात्र बाँचयौं ।’

बेपत्ता हुनेहरु जिवितै भेटिने सम्भावना भने न्यून रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी बताउँछन् । उनका अनुसार शव क्षतबिच्छेत अवस्थामा भेटिएका छन् । ४ जनाको सनाखत भएपनि अन्यको हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung