१६ कार्तिक २०८३, आईतवार

 

यसपालि यस कारण छुट्न सकेनन् चन्द्रकान्त पौडेल, ‘पानीमुनि भए पनि लिएर आउनू’ प्रजिअ न्यौपाने

‘पानीमुनि भए पनि लिएर आउनू ’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आखिरमा यस्तो निर्देशन दिए । चन्द्रकान्त पौडेललाई पक्रन प्रहरीले पटकपटक अलमल गरिरहेपछि उनी यति कडा भएका थिए ।सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा प्रहरीले बुधबार पौडेललाई पक्राउ गरेको छ ।

यसअघि सामाजिक सञ्जालमार्फत समाजमा विग्रह ल्याउन खोजेको आरोप लाग्दै आएका पौडेललाई कारबाही गर्न तीव्र दबाब हुँदा पनि प्रहरी मौन थियो ।

बुधबार प्रजिअले पहिलोचोटि निर्देशन दिँदा पनि बागलुङ प्रहरी उनलाई पक्रने मुडमा थिएन । पत्रकारहरूले यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालयले पौडेल श्राद्ध गरेर बसिरहेकाले उनी २ बजे आफैैं आउने जवाफ दिएको थियो । तर प्रहरीको जवाफ सत्य थिएन किनकि पौडेलका बुबाआमा जीवितै छन् ।

प्रहरीले जानाजान आलटाल गरेको यसबाट पनि पुष्टि हुन्छ कि प्रजिअले साढे १० बजे नै प्रहरी निरीक्षक दीपक रिजाललाई पौडेललाई पक्रन जान भनेका थिए ।

तर, रिजाल त्यसको निकै बेरसम्म पनि कार्यालयमै गफ चुटेर बसिरहेका थिए । यस्तो सूचना पाएपछि प्रजिअले फेरि उनलाई पक्रन निर्देशन दिए ।

त्यसपछि बल्ल १ बजेतिर रिजाल पौडेलको घर बागलुङ नगरपालिका–१ कुँडुले फेदीतिर लागे । कुँडुले पुगे पनि उनले पौडेल गाउँमै नभएको सूचना दिए ।

जबकि पौडेल त्यतिखेर घरमै बसेर सामाजिक सञ्जालमा फोटो, भिडियो र लेख पोस्ट गरिरहेका थिए । उक्त स्ट्याटसमा आफूलाई पूर्वप्रधानमन्त्रीहरूले फोन गरेर सम्झाएको भन्दै उनले लेखेका छन्– ‘म जोगी हो, मलाई केही चाहिएको छैन, १६ श्राद्धले मेरो तेस्रो नेत्र खुल्यो ।’

पौडेल घरमा बसेर जिल्लाका पत्रकार, वकिल, प्रशासन र सरकारविरुद्ध फेसबुकमा लेखिरहेकै थिए । यसको सबै जानकारी जिल्ला प्रशासनलाई थियो ।

घरछेउमै पुगेर पनि पौडललाई पक्रन रिजालले आनाकानी गरेपछि प्रजिअ न्यौपानेले कडा शैलीमा भने– ‘पानीमुनि भए पनि लिएर आउनू ।’ अनि मात्र रिजालले २ बजेतिर पौडेललाई जिल्ला प्रहरीमा ल्याएका थिए ।

प्रहरी कार्यालय ल्याए पनि पहिलेजसरी सामान्य सोधपुछ गरेर उनलाई छोड्ने योजनामा प्रहरी थियो । खास गरी जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले उनलाई पक्रन आलटाल गर्दै आएका थिए । बुधबार पनि उनी बिरामी भएको बहाना बनाउँदै क्वार्टरबाट बाहिर निस्कन चाहेका थिएनन् । गण्डकी प्रदेशका प्रहरीप्रमुख डीआईजी घनश्याम अर्यालले पनि पौडेललाई पक्रन निर्देशन दिएपछि बल्ल चौधरीले टोली खटाएका हुन् ।

जिल्ला प्रहरी पौडेललाई हिजै छोड्ने योजनामा रहेको थाहा भएपछि प्रजिअ न्यौपानेले पौडेलविरुद्ध प्रहरी कार्यालय र जिल्ला प्रशासनमा परेका जाहेरीअनुसार छानबिन र अनुसन्धान आवश्यक भएकाले थुनामा राखी कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । अर्कातर्फ उनलाई नछाड्न प्रहरीलाई नागरिक समाज र सञ्चार माध्यमको पनि दबाब थियो ।

पौडेलविरुद्ध कारबाही अघि बढाउन दुई महिनाअघिदेखि नै जिल्लामा आवाज उठ्दै आएको थियो । पौडेलले सामाजिक सञ्जालमार्फत मानहानि गरेको भन्दै साउनदेखि नै रंगवैंकटेश्वर मुक्तिनारायण मन्दिरका उपाध्यक्ष हरिप्रसाद उपाध्याय, स्वामी ऋषि प्रपन्नाचार्य, पत्रकारहरू राजेशचन्द्र राजभण्डारी, सुवास आचार्य, रामप्रसाद घिमिरे, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, अधिवक्ता राम शर्मालगायतले लिखित र मौखिक उजुरी गरिसकेका थिए ।

पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र–हत्या गर्न खोजेको भन्दै पत्रकार महासंघले समेत उनलाई कानुनी दायरामा ल्याउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung