५ जेष्ठ २०८१, शनिबार

 

जैमिनीमा पहिरोले दुईको मृत्यु

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा आइतबार बिहान आएको पहिरोमा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । ७० वर्षीया जालपादेवी पौडेलको शव फेला परेको हो ।

यसअघि आइतबारै वडा नं १ कुस्मीसेरा, टुनिबोटमा पहिरोले ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । टुनीबोटका ८७ वर्षीय मणिभद्र पाध्या र छोरी देवी शर्मा घाइते छन् । उनीहरूको प्राथमिक स्वास्थ्यकेन्द्र कुस्मीसेरामा उपचार भइरहेको छ  ।

बागलुङ–कुस्मीसेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । जैमिनी नगरपालिकाका चार घरमा क्षति पुगेको छ । दुई परिवार विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताए । टुनीबोटमा केही पशुचौपायासमेत मरेका छन् । पहिरोले तीनवटा गोठमा क्षति पु¥याएको छ ।

त्यस्तै जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले घर पुर्दा नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् । बाँसको झ्याङले अठ्याएको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले बताए ।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र कुस्मीसेरामा उपचारका लागि पठाइएको छ । जैमिनीका दुवै वडामा गएको पहिरोको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयले बताए ।

तस्वीर : ढोरपाटन न्युजबाट

प्रतिक्रिया दिनुहोस्