
गत भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा बाढी आउँदा ठूलो संख्यामा मानवीयसँगै भौतिक क्षति भएको छ । अहिले त्यहाँ स्वास्थ्य, खानेपानी, विद्युत, आवास पुर्नर्निमाण कसरी हुँदैछ भन्ने विषयमा जनचासो बढिरहेको छ । पीडितका लागि पनि विभिन्न संघसंस्थाले राहत जम्मा गरिरहेका छन् । कतिले राहत एकद्वार प्रणाली भयो भनेर खुसी पनि व्यक्त गरेका छन् । यसै सन्दर्भमा सराेकारकारवाला, बाढीपीडत र स्थानीय के भन्छन् त ?
ज्ञामनाथ गैरे, सचिव, नेकपा जिल्ला कमिटी
भदौ १७ गतेको बाढीले ढोरपाटन नगरपालिका–८ र ९ मा धेरै मानवीय तथा भौतिक क्षति भएको छ । विद्यालय, विद्युत, खानेपानी सिंचाई क्षतविच्छेद भएको छ । यहाँका जनसमुदायहरुलाई राहत उपल्बध गराउने कुरा, गासबासको ग्यारेन्टी गर्नका लागि संघीय सरकारका गृहमन्त्री यहाँ आएर पहल गर्नुभएको छ । यस्तै प्रदेशका मुख्यमन्त्री पनि आएर अवलोकन गरेर जानुभएको छ । स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दलहरुले पनि राहतका लागि पहल गरिरहेका छन् । पहिलो कुरा राहत हो । दोस्रो कुरा भनेको यहाँको पुर्नर्निमाण कसरी गर्ने भन्ने हो । पुर्ननिर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि करिब २० लाख सहयोग गरेको छ ।
बाढी प्रभावित क्षेत्र पुग्दा साल्झण्डी–बुर्तिबाङ ढोरपाटनको सात किलोमिटर सडक पूर्ण रुपमा नष्ट भएकाे पायाैं । मोटरबाटोलाई व्यवस्थित गरेर ढोरपाटन पुर्याउने कुरा भौतिक मन्त्रालय, प्रदेशका मन्त्रालयसँग कुरा भएको छ । बाढीले गर्दा विद्युत बगाएपछि यहाँको बस्ती अन्धकार जस्तै भएको छ । यसको पुर्नर्निमाण गर्ने कुरा गाह्रो छ । यसलाई अब केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने कुरा भएको छ । यहाँ विभिन्न विद्यालयहरु बाढीले बगाएको छ । देशविदेशमा भएका साथीहरुले विद्यालय बनाउँछौँ भन्नुभएको छ । यो सकरात्मक कुरा हो ।
चुनाबहादुर घर्ति, स्थानीय
बाढीले हामीलाई ठूलो क्षति भएको छ । ३८ जनामध्ये २२ जनाको शव भेटिएको छ । बेपत्ताहरुको खोजी चाँडो राज्यले गरिदिनुपर्याे । यहाँको विद्युत, खानेपानी, स्वास्थ्य र यातायात नै पहिलो प्राथमिकता हो । यसमा राज्यले ध्यान दिनुपर्छ । अहिले यातायातले गर्दा आएका राहत पनि बुर्तिबाङमा रोकिएर बसेका छन् ।
कृष्ण पाठक, नेता नेकपा
बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्नका लागि तीनै तहको राज्य, विभिन्न देशमा भएका नेपाली दाजुभाइहरु, विभिन्न संघसंस्थाहरु लगिरहनुभएको छ । अवरुद्ध विद्यालय, सडक, विद्युत सेवा तत्काल सुचारू गर्नुपर्ने देखिन्छ ।
जो बाढीपीडितलाई राज्यबाट राहतको व्यवस्थापन गर्नुपर्छ । याे अवस्था नआउनुपर्थ्यो आइहाल्यो, अब जिल्लाका नेताहरु एकाकार भएर विकासमा लाग्नुपर्छ ।
नन्दे सुनार, ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष
बाढीपीडितले केही राहत पाएपनि सडक बगाउँदा आएको राहत पनि बाटोमै राेकिएकाे छ । यस क्षेत्रका जनताको दुई ठाउँमा बस्ती भएकाले मानवीय क्षति कम भयो । यहाँ नै सबै जना बस्नुहुन्थयो भने २ सय ५० जनाको ज्यान जानसक्थ्यो ।
अर्काे वर्षकाे बर्खासम्म बस्ती बसाइसक्नुपर्छ भन्ने स्थानीयको माग छ । विद्युत सेवा अवरुद्ध हुँदा अहिले यहाँका बस्ती सञ्चारविहीन बनेका छन् ।
रामबहादुर घर्तीमगर, बाढीपीडित
सुत्केरीका लागि स्वास्थ्य जाँच गर्ने स्वास्थ्यचौकी बाढीले लगेपछि ठूलो समस्या भएको छ । स्वास्थ्य शिविर चलाउन आवश्यक छ ।
विद्युत र विद्यालय पनि बगाएर लगेकाले वैकल्पिक उपाय अपनाउनुपर्ने देखिन्छ । हामीलाई सहज हुने वातावरण बनाइदिनुपर्यो । हामीले प्रतिपरिवार २ देखि ५ हजार रुपैयाँ मात्र राहत पाएका छाैं । त्यतिले कतिछाक खानु ? केन्द्रीय सरकारसँग राहतकाे लागि पहल गरिदिनुपर्यो ।
हरिबहादुर घर्ति मगर, ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष
संकलित राहत एकद्वारा प्रणालीबाट वितरण गर्ने कार्यपालिकाकाे निर्णय छ । बस्ती पुर्निर्माणका लागि केन्द्रीय र प्रदेश सरकारले साथ दिनुपर्छ । वडाका दुईवटा विद्यालय ध्वस्त भएका छन् । ध्वस्त विद्यालयलाई स्थान्तरण गरी नयाँ ठाउँमा बनाउने तयारीमा छाैँ ।
यस्तै, बाढीले बगाएकाे स्वास्थ्यचौकी पनि जग्गा खोजेर पुर्नर्निमाण गर्ने तयारी भइरहेकाे छ । घर पूर्ण रुपमा क्षति भएकाहरुका लागि एकिकृत बस्ती निर्माण गर्ने वडाकाे याेजना छ । पीडितहरु अहिले आफन्तकोमा बस्नुभएको छ । सडक बाढीले बगाएका कारण आवश्यक राहत आउन नसकेको कारण उहाँहरु आफ्न्तकोमा बस्नुपरेकाे हाे ।
विष्णु भुसाल, जिल्ला समन्वय समितिका उपप्रमुख
बाढीले भौतिकसँगै मानवीय क्षति पनि भयो । १८ गते र गत शुक्रबार पनि आएर यहाँको मानवीय क्षति र भौतिक क्षतिको विवरण लिएका छौँ । ढोरपाटन शिकार आरक्ष जाने मोटरबाटो छिन्नभिन्न अवस्थामा छ । यसलाई पुर्नर्निमाण गरी अस्थायी रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।
बाढीबाट विस्थापित हुनुभएकालाई सहज तरिकाले राहतको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अहिले वितरण भएकाे राहतलाई वडा र नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने देखियाे ।
बलावति शर्मा, नेकपा बागलुङ इन्चार्ज
बाढीले ठूलो जनधनको क्षति भएको छ । हामी त्यहाँको अवस्थाको विषयमा स्थलगत रूपमै गएर बुझेका छौं । तत्कालका लागि पीडितहरुले राहत पाएको अवस्था छ ।
तर, त्यहाँको पुनर्निर्माण ठूलो विषय हाे । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्छ । बाढीबाट मृत्यु भएका परिवारलाई राज्यले प्रति व्यक्ति २ लाख रुपैयाँ दिने कुरा नीतिमै छ । सँगै आवास निर्माण गर्ने कुरा पनि छ । अब यहाँको बस्ती एवं अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि सम्बन्धित कार्यालयको टोली आएर अध्ययन गर्ने काम भइरहेको छ ।
देवकुमार नेपाली, ढोरपाटन नगरप्रमुख
अब त्यहाँको भौतिक संरचना पहिले भन्दा पनि राम्रो बन्छन् । अहिले हामी राहत रकम संकलन गर्दैछौं । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले राहत एकद्वारबाट लैजाने निर्णय भएको छ । राहत एकद्वार हुँदा परिणाममुखी नतिजा आउँछ ।
केन्द्रीय प्रसारण लाइन एक महिनाभित्र बुर्तिबाङमा पुग्ने भएकाेले विद्युतकाे समस्या पनि समाधान हुन्छ । सडक बाढीले बगाएपछि पर्याप्त राहत वितरण गर्न सकिएको छैन । अब मोटरबाटो जाँदैछ, पीडितले राहत पाउँछन् ।