जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मानव बेचबिखन अनुसधान व्युरोमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाएको हो ।
सरोकारवाला, नागरिक समाज, प्रशासन, राजनीतिक दल,स्थानीय सरकार र जनप्रतिनिधिसँग समन्वय गर्न नसकेको भन्दै चौधरीलाई जिम्मेवारीमुक्त गरिएको बुुझिएको छ । ‘कमान्ड कन्ट्रोल राम्रो देखिएन, त्यसैले जिम्मेवारीमुक्त गरिएको हो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने । चौधरीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडामा नयाँ इन्चार्ज पठाएको छ । प्रहरी नायव उपरीक्षक रवि रावललाई गरुडामा सरुवा गरिएको हो ।
यसअघि गरुडामा सरुवा भएका डीएसपी नरेन्द्र कुँवरले स्वास्थ्य समस्या देखाएर हाजिर हुन इन्कार गरेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजयराम चमारको हिरासतमा मृत्युपछि त्यहाँ कार्यरत डीएसपी ज्ञानकुमार महतोलाई जिम्मेवारीबाट हटाइएको थियो । गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा प्रहरीले विजयलाई साउन ३२ मा पक्रेको थियो ।
तस्वीर : आदर्श संचारबाट



















































































































































































































