उपसचिव तहको दरबन्दी भए पनि बागलुङ नगरपालिका लामो समयदेखि निमित्त प्रशासकीय अधिकृतको भरमा चलेको छ । नगरपालिकामा उपसचिव तहका प्रशासकीय अधिकृत हुनुपर्ने व्यवस्था भए पनि झन्डै १० महिनादेखि नगरपालिका निमित्तको भरमा चल्दै आएको हो ।
बागलुङ नगरपालिकाका तल्कालीन प्रशासकीय अधिकृत भीमबहादुर कुँवर नगरमा बस्ने वातावरण नभएपछि २०७६ कात्तिकमा सरुवा भएपछि अहिले नगरशिक्षा अधिकारी डण्डपाणि शर्माले निमित्तका रूपमा काम गरिरहेका छन् ।
२०७५ असार ६ गते बागलुङ नगरपालिकामा हाजिर भएका कुँवरले २०७६ कात्तिक मसान्तसम्म जिम्मेवारी सम्हालेका थिए । उनी अहिले चितवनको माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । बागलुङ नगरपालिकामा जनकराज पौडेलको नेतृत्वमा जनप्रतिनिधि आएपछि ३ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
२०७४ वैशाख २८ गते भएको स्थानीय तहको चुनावबाट बागलुङ नगरपालिकाको मेयरमा पौडेल निर्वाचित हुँदा सुवासकुमार लामिछाने प्रमुख प्रशासकीय अधिकृत थिए। २०७३ चैतमा आएका लामिछाने जनप्रतिनिधिसँग ५ महिना पनि टिक्न सकेनन् । नगरप्रमुखको अनुकूल हुने गरी काम नहुँदा उनको अचानक २०७४ असोजमा सरुवा भएको थियो ।
लामिछाने अहिले मोरङ कारागार विराटनगरमा कार्यरत छन् । जुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका नारायण सापकोटा २०७४ कात्तिक १ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिका आएका थिए ।
नगरप्रमुखको दबाब थेग्न नसकेपछि उनी २०७५ आसार ३ गते जिल्ला समन्वय समितिमा गएका थिए ।नगरसभाको तयारी भइरहेका बेला सापकोटालाई बाटो खुल्ला गर्न दबाब बढेपछि सापकोटाले बागलुङ नगरपालिका छोडेका थिए ।
जनप्रतिनिधि भएर विकास कर र राजस्व वृद्धि गर्न लाग्नुपर्ने, निर्माणका खाका, नीतिनिर्माणको रणनीति बनाउन र जनपक्षीय काममा ध्यान दिनुपर्ने जनप्रतिनिधिले आर्थिक प्रशासन, सामान खरिद तथा ठेक्कापट्टामा रुचि देखाएपछि उनीहरूबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो ।
नगर नेतृत्वले त्यति बेला स्थानीय निकाय सञ्चालन कानुनले तोकिएका समयमा नगरसभा गर्न सकेको थिएन ।प्रशासकीय काम र विकास निर्माणको विषयमा विवाद बढेपछि सापकोटा नगरपालिकाबाट हट्न बाध्य भएका थिए ।
जिल्ला समन्वय अधिकारीका रूपमा रहेका भीमबहादुर कुँवरलाई २०७५ असार ६ गते नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिइएको थियो ।
नगरप्रमुख पौडेलको रोजाइमा नगरपालिका सम्हाल्न आएका कुँवर अन्तत २०७६ कात्तिक मसान्तमा नगरपालिका छाडेर मन्त्रालयमा हाजिर हुन गएका थिए ।
निमित्त प्रशासकीय अधिकृतले तोकिएकै अधिकृतको जस्तो काम गर्न समस्या हुने गरेको छ । निमित्तलाई जनप्रतिनिधिको दबाब रहने, कामचलाउ ढंगले काम गर्ने, अडान लिन नसक्ने जस्ता कमजोरी देखिएको नगरवासीको बुझाइ छ ।
“मैले देशभर खाली रहेका स्थानीय तहमा मन्त्रालयले कार्यालय प्रमुख पठाउन लागेको थाहा पाएको छु”, नगरप्रमुख पौडेलले भने । बागलुङ नगरपालिका निमित्तका भरमा सञ्चालन भइरहेको बारेमा मन्त्रालयमा जानकारी गराइएको नगरप्रमुख पौडेलले नयाँ विश्वलाई बताए । कुल ७ सय ५३ स्थानीय तहमध्ये देशभर हाल २ सय ७ वटा स्थानीय तह निमित्तका भरमा छन् ।
काठमाडौं महानगरको प्रशासकीय अधिकृतको दरबन्दी विशिष्ट श्रेणीको सचिव तहको छ । त्यसबाहेकका ५ महानगर र ११ उपमहानगरमा प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ ।
२ सय ७६ नगरपालिकामा उपसचिव तथा गाउँपालिकाहरूमा शाखा अधिकृतले प्रशासकीय अधिकृत चलाउनुपर्ने व्यवस्था छ ।तर १ महानगर, ४ उपमहानगर, १ सय १३ नगरपालिका र ८९ गाउँपालिका निमित्तका भरमा छन् । लामो समय निमित्तको भरमा चलाउँदा विकास र आर्थिक प्रशासन प्रभावकारी हुँदैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो कुरामा विशेष ध्यान दिनुपर्छ भने नगरप्रमुखले मुख्य कार्यालय प्रमुख निमित्तको भरमा हैन, त्यस पदमा योग्य कर्मचारी ल्याएर नगरको काम चुस्त बनाउनुपर्ने नागरिक समाजका सदस्य अधिवक्ता राम शर्माले नयाँ विश्वलाई बताए ।



















































































































































































































