५ श्रावण २०८३, मंगलवार

 

बागलुङबाट छुट्न थाले लामो दूरीका गाडी, करिब ४ अर्बको लगानी जोगाउने चुनौती

बागलुङका यातायात व्यवसायीले लामो दूरीका सार्वजनिक बस सञ्चालनमा ल्याएका छन् । ५० प्रतिशत भाडा बढाएर ५० प्रतिशत यात्रु बोक्न पाउने सरकारको निर्णयसँगै उनीहरूले सेवा थालेका हुन् ।सरकारले तोकेको स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्दै सवारी सञ्चालनमा ल्याइएको धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताए ।

बस सञ्चालक कम्पनीले सरकारी निर्णयको अवज्ञा गर्दै असोज १ गते सवारी सञ्चालनको तयारी थालेको थियो । ‘कोभिड–१९ सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन कार्यविधि निर्देशिका २०७७’ अनुसार नै मापदण्ड अपनाएर सवारी सञ्चालन गरिएको केसीले बताए ।

उनका अनुसार गाडी छुट्नुअघि डिसइन्फेक्सन गर्ने गरिएको छ । सवारी चढ्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ ।बागलुङमा धौलागिरि गण्डकी यातायात सेवा प्रालि, बागलुङ भगवती यातायात सेवा प्रालि, संयुक्त यातायात सेवा प्रालि, बुर्तिवाङ यातायात सेवा प्रालि, ढोरपाटन यातायात सेवा प्रालिले देशका प्रमुख सहरहरूसम्म सेवा दिँदै आएका छन् । व्यवसायीका अनुसार सवारीसाधन डिसइन्फेक्सन र शुद्धीकरणका लागि अत्याधुनिक मेसिन व्यवस्था गरिएको छ ।

बिहीबारबाट टिकट काउन्टर खुला गरिएको बागलुङ भगवती यातायात सेवा प्रालिका महासचिव मनोज खड्काले बताए । व्यवसायीले यात्रुको चापअनुसार सवारी सञ्चालनमा ल्याउने जनाएका छन् ।

कोभिड–१९ लाई लक्षित गरी सरकारले लकडाउन गरेपछि बागलुङमा करोडौं रुपैयाँ लगानी गरी यातायात सञ्चालन गर्दै आएका व्यवसायी र मजदुर आर्थिक चपेटामा परेका छन् ।

बागलुङका सार्वजनिक यातायात, ढुवानी र निजी सवारीमा मात्रै ८ अर्ब लगानी छ । सार्वजनिक यातायात क्षेत्रमा मात्रै ४ अर्बभन्दा बढी लगानी भएको छ ।

धौलागिरि गण्डकी यातायात सेवा प्रालिमा सूचीकृत बसमा मात्रै २ अर्ब १० करोड र २ सय ९ जिपमा ८३ करोड लगानी रहेको व्यवसायीले जनाएका छन् ।

त्यस्तै बागलुङ भगवती यातायात सेवा प्रालिले बस, माइक्रोबस र जिपमा झन्डै ५० करोड लगानी गरेको छ । बुर्तिवाङ यातायात सेवा कम्पनीका ८० सवारीमा ४० करोड लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung