जिल्लाको जैमिनी नगरपालिकाको टुनिबोट र बिनामारेका बाढीपहिरोपीडित आठ परिवारलाई बागलुङका लायनहरूले राहत प्रदान गरेका छन् ।
उनीहरूले शनिबार आठ थान ग्यास सिलिन्डर, आठ सेट ग्यास चुलो, आठ सेट सिरक–डसना, सिरानी, तन्नासहितका सामग्री उपलब्ध गराएका हुन् ।बाढी प्रभावित परिवारहरुलाई लायन्स क्लबहरुको तर्फबाट ७२ हजार बराबरको सामान उपलब्ध गराइएको हो ।
लायन्सहरूले घटनास्थलमै पुगेर आफूहरूले संकलन गरेका जिन्सी राहत वितरण गरेका हुन् । लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका चिफ काउन्सोलर काजीमान गुरुङले बाढी प्रभावित परिवारको साथमा लायन्स रहेको र भविष्यमा पनि थप सहयोग गर्ने गुरुङले बताए । कार्यक्रममा प्रमुख अतिथि जैमिनि नगरप्रमुख इन्द्रराज पौडेलले जिन्सी राहतले पीडितहरू प्रत्यक्ष लाभान्वित भएको बताए ।



कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका सिनियर एड्भाइजर पीएमजेएफ दुर्गा कुँवर,लायन्स क्लब अफ बागलुङका अध्यक्ष केशव सापकोटा, लायन्स क्लब अफ जैमिनीका अध्यक्ष रवि पौडेल, जोन चेयरपर्सन गोपाल पौडेल, रिजन चेयरपर्सन एमजेएफ पार्वती अधिकारीलगायतले लायन्सको महत्त्वबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष जयराम भारीले गरेका थिए ।



















































































































































































































