
जिल्ला प्रहरी कार्यालय, बागलुङले विभिन्न समयमा मुद्दा फैसला भए पनि कारबाहीको दायरामा नआएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ।
प्रहरीले जरिवाना र कैद भुक्तानी गर्न बाँकी रहेकाहरूलाई पक्रेर फैसला कार्यान्वयन गराउन सक्रियता बढाएको हो । यस क्रममा चार दिनमा जिल्ला ३६ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा लागुऔषध, सार्वजनिक अपराध, वन्यजन्तु ओसारपसार, ठगी, गाली,बेइज्जती, जुवा, सवारी ज्यान मुद्दाका अभियुक्त छन् । उनीहरूसँग १ सय २५ रुपैयाँदेखि ५ हजारसम्म जरिवाना असुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा नयाँ प्रमुख लोकेन्द्र श्रेष्ठ आएलगत्तै फरार अभियुक्त फक्राउ गर्न सक्रियता देखाएका हुन् । कैद भुक्तान गर्नुपर्ने व्यक्ति र जरिवाना तिर्न अटेर गर्दै आएकालाई पक्राउ गर्ने क्रम बढेको जिल्ला प्रहरीका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।
बागलुङका चारवटा नगरपालिका र छवटा गाउँपालिकाभित्र फरार सूचीमा रहेका ४ सय ७९ जना व्यक्ति पक्राउ पर्नुका साथै तोकिएका दण्ड,जरिवाना असुल हुन थालेको जिल्ला अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।
सर्वोच्च अदालतले २०७१ असार ५ गते कैद फैसला गरेका ठगी मुद्दाका अभियुक्त गलकोट नगरपालिका ३ हटियाका ओमबहादुर खड्का पक्राउ परेका छन् ।
उनलाई २ वर्ष ३ महिना १९ दिन कैद र ५५ लाख ५२ हजार १२ रकम जरिवाना असुली गर्न बाँकी थियो । सूचना अधिकारी रेग्मीका अनुसार खड्कालाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइसकिएको छ । पक्राउ पर्ने अन्यमा ११ वर्षपहिले मुद्दा फैसला भएकाहरूसमेत छन् ।