बीवाईसी बागलुङ र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले ढोरपाटन नगरपालिकाका बाढीपीडितलाई सघाउन १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका छन् ।
भदौ १७ गतेको बाढीले आफन्त र घरबास गुमेका ढोरपाटनका ५, ७, ८ र ९ वडाका स्थानीयलाई थोरै भए पनि राहत मिलोस् भनेर रकम सहयोग गरिएको बीवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताए ।
राहतका लागि नगरपालिकाले सञ्चालन गरेको एकद्वार प्रणालीअन्तर्गत उपमेयर कर्मती पुन र प्रमुख प्रशासकीय अधिकृतलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष मणिभद्र शर्मा, कानुनी सल्लाहकार डिल्लीराज गौतम, उपाध्यक्ष तोयानाथ गौतम, सचिव दीपक गौतम र ग्रामीण स्वास्थ्य सुधार परियोजनाका तर्फबाट परियोजना व्यवस्थापक गणेश बस्वाललगायत सहभागी थिए ।
उक्त रकम संस्थामा आबद्ध सञ्चालक समिति, विभिन्न परियोजनमा कार्यरत कर्मचारी, आन्तरिक कोष र फेयरमेड फाउन्डेसन नेपालबाट संकलन गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
कार्यक्रममा उनले सामुदायिक स्वास्थ्य एकाइ सुकुरदुममा संक्रमण रोकथाममा सघाउनुका साथै अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।



















































































































































































































