१६ कार्तिक २०८३, आईतवार

 

तीन महिनादेखि ठप्प बागलुङ–बेनी सडक खुलाउन स्थानीयले घेरे सडक डिभिजन

बागलुङ–बेनी सडक अवरुद्ध भएको तीन महिनासम्म पनि खुलाउन पहल नगरेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय, बागलुङ घेराउ गरेका छन् । उनीहरूले कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

वर्षामा यसै पनि हिलाम्मे हुने सडक पहिरोसमेत थपिएपछि गत असारदेखि ठप्प छ । आफूहरूले व्यक्तिगत रूपमा लगानी गरेर एकतर्फी सडक खोले पनि पहिरोले फेरि चार घण्टामै अवरुद्ध भएको स्थानीयको गुनासो छ । उनीहरू दीर्घकालीन उपाय खोज्दै सडक डिभिजन पुगेका हुन् ।

पटकपटक सडक खुलाउन माग गरे पनि अटेरी गरिएपछि बाध्य भएर कार्यालय घेराउ गर्न आएको स्थानीय मातृका आचार्यले बताए । सडक थुनिँदा बागलुङ नगरपालिका–५ मालिका, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर २ ज्यामरुकोटका बासिन्दालाई सास्ती छ । पहिरोले गत असार ८ देखि उक्त सडक बन्द भएको हो ।

बागलुङ नगरपालिका–५ बान्द्रे, म्याग्दीसँगको सिमाना ढोडेनी खोला पुलनजिकै र बेनी नगरपालिका–१ रानीवनमा पहिरो गएको छ । सडक खुलाउन लाखौं रुपैयाँ आवश्यक देखिएको तर कार्यालयमा पर्याप्त बजेट नभएकाले काम अघि बढाउन नसकिएको सडक डिभिजनले जनाएको छ ।

यद्यपि सडक डिभिजन कार्यालय, बागलुङका इन्जिनियर मुकुन्दप्रसाद लामिछानेले सडक खुलाउन आजैबाट पहल गर्ने बताए ।डिभिजन घेर्न गएका स्थानीयले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई समेत ध्यानाकर्षणपत्र बुझाएका छन् । पत्र बुझ्दै न्यौपानेले पनि सडक खुलाउन तत्काल पहल थाल्ने बताए ।

यातायात साधन नचल्दा स्थानीयले उत्पादन गरेको कृषिजन्य सामग्री बजार पु¥याउन सकिएको छैन । दूध, अण्डा र मासुले बजार नपाउँदा करोडौं लगानीमा भैंसी फर्म र कुखुरा फर्म खोलेकाहरू मर्कामा छन् । ती फार्ममा दानासमेत ल्याउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung