बन्दाबन्दी खुकुलो भएसँगै मोटरसाइकल खरिद गर्ने ग्राहक ह्वात्तै बढेका छन् । मुलुकमा विभिन्न ब्रान्डका बाइक बिक्री गर्दै आएका बजाज, टिभीएस, हिरोहोन्डा, यामाहा, महिन्द्रालगायत नेपालका लागि आधिकारिक बिक्रेताहरूले ग्राहकको माग धेरै आएपछि आपूर्ति गर्नै धौधौ परेको जनाए । असोज १ पछि मोटरसाइकल बिक्रेताहरूले बजार सहज भएको मौकामा विभिन्न अफर ल्याएर ग्राहक लोभ्याएका मात्र छैनन्, धमाधम नयाँ मोडल बजारमा उतारेका छन् ।
पावरफुल बाइकका नयाँ मोडल सुविधा थपिँदै बजारमा आउँदा प्रयोगकर्ताका लागि छनोटको क्षेत्र पनि फराकिलो भएको छ । कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नैपर्ने भएकाले मध्यमवर्गीयको रोजाइ र बाध्यताको सवारीसाधन मोटरसाइकल बनेको छ । लामो समय आर्थिक गतिविधि ठप्प रहेर बजार पुनः खुल्दा व्यवसायीको अपेक्षाभन्दा राम्रो कारोबार भइरहेको छ । सरल फाइनान्सिङको सुविधाले पनि ग्राहकलाई सजिलो भएको छ ।
मोटरसाइकल खरिदमा बढेको चापसँगै मागका धेरै हुने मोडल उपलब्ध गराउन कम्पनीहरूलाई चाप परेको छ । केही कम्पनीले लिएको आक्रामक बजार नीतिले पनि कारोबार बढाएको छ । तीन महिनाको अन्तरालमा १५ हजार वटाभन्दा बढी मोटरसाइकल बिक्री भइसकेको टीभीएस बाइकको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
जुलाई महिनादेखि बन्दाबन्दी खुकुलो भएसँगै बिक्री व्यवसायले गत वर्षको तुलनामा थप राम्रोसँग गति लिएको कम्पनीका बिक्री महाप्रबन्धक दीपक रौनियारले बताए । चाडबाडमा नयाँ साधन जोड्नुका साथै दुईपांग्रे प्रयोगकर्ताले हालको अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले मोटरसाइकल खरिदमा चासो देखाउँदा बजारमा सकारात्मक प्रभाव परेको उनले बताए ।
















































































































































































