
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘६५औं प्रहरी दिवस २०७७’ मनाएको छ । दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा बिहान पौने ९ बजे श्रद्धाञ्जलीसहितको प्रहरी दिवस विषेश कार्यक्रम आयोजना गरियो ।
कार्यक्तममा प्रमुख अतिथि जिल्ला न्यायधीश वासुदेव न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सामुदायिक सेवा केन्द्रका पदाधिकारीलगायतको सहभागिता थियो ।
उक्त अवसरमा प्रहरीको भवन बनाउन निःशुल्क जग्गा दिने बरेङ गाउँपालिका वडा नं २ हुग्दीशिर गाउँका दधिराम शर्मालाई प्रहरी महानिरीक्षकद्वारा प्रदान गरिएको कदरपत्र, प्रहरीको काममा सघाउने सामुदायिक प्रहरी सेवा केन्द्र वानपा १, रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य र सामुदायिक प्रहरी सेवा केन्द्र वानपा ३ गुठीका अध्यक्ष लिला देवी खड्कालाई सम्मानपत्र, २०७७ असोज महिनाको ‘पुलिस अफ द मन्थ’ अवार्ड वितरण र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा जिल्ला न्यायाधीश न्यौपाने, निमित्त प्रजिअ पौडेल, बागलुङका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष दिल श्रीस, पूर्व प्रहरी कर्मचारीका तर्फबाट पूर्वप्रनाउ टीकाबहादुर कार्कीले मन्तव्य व्यक्त गरेका थिए । प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिवसका अवसरमा दिएको सन्देश वाचन गरेका थिए ।
यसैबीच बुर्तिबाङस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी पुरस्कृत भएका छन् ।समुदायमा प्रहरी साझेदारी कार्यक्रममार्फत आफ्नो सक्रियता सुरु गरेका उनले जिल्लामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी दिवसका अवसरमा संगठनले पुरस्कृत गरेको हो ।
भण्डारी प्रकाश फागुन १ गते बुर्तिबाङमा काजमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आएका हुन् । त्यसयताका आठ महिनामा उनले स्थानीय स्तरमा अपराध नियन्त्रणमा सक्रियता देखाउँदै आएका छन् ।