
अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले चीनमा बनाइएका मोडल थ्री कार युरोप निर्यात गर्ने भएको छ । यसै महिनादेखि कम्पनीले १० भन्दा धेरै युरोपेली देशहरूमा चीनमा बनाइएका मोडल थ्री नियात गर्न लागेको हो ।
अक्टोबरदेखि डिसेम्बरको बीचमा जर्मनी, फ्रान्स, इटाली र स्विट्जरल्यान्डलगायत देशमा साङ्हाई कारखानामा बनेका सवारीसाधन निर्यात गरिने कम्पनीले विज्ञप्तिमा जनाएको हो ।
अमेरिका र चीनबीच विवाद चर्किंदै गएसँगै टेस्लाले चीनमा व्यवसाय विस्तार गरिरहेको छ । साङ्हाईस्थित कारखाना कम्पनीको अमेरिकाबाहिरको पहिलोे कारखाना हो ।
यसमा बर्सेनि १ लाख ५० हजार थान सवारीसाधन बनाउने कम्पनीको लक्ष्य छ । चीन सरकारबाट उद्योगले पाउने सहयोग, नवप्रवर्तनशील स्थानीय कम्पनी र नयाँ प्रविधि अपनाउने उपभोक्ताका कारण चीन स्मार्ट विद्युतीय सवारी निर्माताका लागि उत्कृष्ट बजार भएको एक विज्ञप्तिमा टेस्लाले जनाएको छ ।