१६ कार्तिक २०८३, आईतवार

 

भारतीय सेनाप्रमुख नरवणे आज विशेष विमानमा काठमाडौं ओर्लंदै, बस्ने सोल्टी होटलमा, पशुपति दर्शन गर्ने

भारतीय स्थल सेनाप्रमुख मनोजमुकुन्द नरवणे बुधबार मध्याह्न नेपाल भ्रमणमा आउँदै छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं ओर्लनेछन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय टोलीसहित उनी नेपाल आउन लागेका हुन् । भ्रमण टोलीमा उनकी पत्नी वीणा पनि छिन् । तीन दिनको औपचारिक भ्रमणमा नरवणे कालिमाटीस्थित सोल्टी होटलमा बस्ने भएका छन् । बुधबार नै उनी पत्नीसहित पशुपति दर्शनका लागि जाँदै छन् । साँझ प्रधानसेनापति थापाले आयोजना गर्ने डिनरमा सहभागी हुँदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आउन लागेका नरवणे बिहीबार र शुक्रबार औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । ‘आज औपचारिक कार्यक्रम छैन,’ नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोषवल्लभ पौडेलले भने, ‘बिहीबार बिहान सैनिक मञ्च र जंगी अड्डामा हुने औपचारिक कार्यक्रममा उहाँ सरिक हुनुहुन्छ ।’

बिहीबार बिहान जंगी अड्डामा आयोजित समारोहमा नेपाली सेनाका लागि नरवणेले एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।

जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापतिसँग औपचारिक छलफल र ज्येष्ठ रथीहरूसँग अन्तरक्रियाको कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बिहीबार मध्याह्न राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नेछिन् । त्यसपछि साइडलाइनमा राष्ट्रपति र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट हुनेछ ।

साँझ नेपाली सेनाले जंगी अड्डामा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजमा भारतीय डेलिगेसन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागी हुने बताइएको छ ।

शुक्रबार बिहान उनी शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेज जानेछन् भने सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनी स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung