१ जेष्ठ २०८२, बिहीबार

 

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निम्तोमा भारतीय सेनाको विशेष विमानबाट उनी बुधबार काठमाडौं ओर्लिएका हुन् ।

उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधान सेनापति थापासँग छलफललगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ । नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

उनी कात्तिक २१ गतेसम्म नेपालमा रहनेछन् । करिब ७० वर्षदेखि नेपाल र भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ ।

भारत स्वतन्त्र भएदेखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो । सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो । तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ ।

नरवणे यसअघि कालापानी–लिपुलेक सीमाबारेको अभिव्यक्तिका कारण नेपालमा आलोचित छन् । उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung