प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले अस्थिरता निम्त्याउने गरी षड्यन्त्र भइरहेको समेत बताए ।
ओलीले आफूलाई पदबाट हटाउन विभिन्न चलखेल भइरहेको दाबीसमेत गरेको एक मन्त्रीले बताए । ‘कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेका छन् ।
ती चलखेलको सामना गर्न तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘विश्वास–अविश्वासका विभिन्न खालका चलखेल भइरहेका छन् ।’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीसँग परामर्श गरेका थिए । दाहाल र नेपालले प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमका बारेमा छलफल गरेको स्रोतको दाबी छ ।
ओलीलाई सत्ताबाट हटाए दाहाल–नेपालका नजरमा उनले गर्न सक्ने दुई विकल्प छन् । पहिलो, रातारात अध्यादेश ल्याएर पार्टी फुटाउने । अहिलेको कानुनअनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत संख्या चाहिन्छ ।
ओलीले त्यसलाई अध्यादेशमार्फत बदलेर संसदीय दलमा मात्रै ४० वा ३० प्रतिशत संख्या भए पनि पार्टी फुटाउन मिल्ने कानुन ल्याउन सक्छन् । दोस्रो, संविधानमा प्रावधान नै नभए पनि संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्छन् ।
ओलीले अदालत मिलाएर त्यो गैरसंवैधानिक कदमविरुद्ध आउन सक्ने मुद्दाहरू निस्तेज पार्ने र आफ्नै नेतृत्वमा चुनाव गराउन सक्ने आशंका दाहाल र नेपाललाई छ ।
बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्ने खेल भइरहेको तर आफूले राजीनामा नदिने बताएका थिए।



















































































































































































































