समाजसेवी तथा राजनीतिज्ञ ओमकार गौचनको निधन भएको छ । बुधबार बिहान ४ बजे काठमाडौंको दीर्घायु अस्पतालमा ८५ वर्षको उमेरमा उनको निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए ।
गौचन १९९२ सालमा पिता ओमप्रसाद र माता पतिसाङ्मोको जेठा छोराका रूपमा बागलुङ नगरपालिका–३ नारायण चोकमा जन्मिएका थिए । गौचनको सम्पादकत्वमा धौलागिरि अञ्चलमै पहिलोपटक हस्तलिखित साप्ताहिक पत्रिका ‘सही बाटो’ को प्रकाशन भएको थियो ।
उक्त पत्रिकाले यस क्षेत्रमा पहिलो सञ्चार सामग्रीका रूपमा स्थानीयलाई सुसूचित गर्ने काम गरेको थियो ।गौचन २०२४ सालमा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए ।
पञ्चायत कालमा उनी यस क्षेत्रबाट शिक्षा सहायक मन्त्री, सञ्चार सहायक मन्त्री र उनी विसं २०४२ सालमा निर्मित पंचायतको अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वको सरकारको वन राज्यमन्त्रीसमेत भएका थिए । उनी १९९७ सालमा निर्मित विद्यामन्दिर माध्यमिक विद्यालयको संरक्षक तथा सल्लाहकार, विसं २००३ सालमा निर्मित विद्यामन्दिर पुस्तकालयको पूर्वअध्यक्ष तथा प्रधान संरक्षक थिए ।
२०३४ सालमा नेपाल परिवार नियोजन संघ बागलुङको संस्थापक अध्यक्ष, २०४८ सालमा नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।उनी नेपाली काग्रेस जिल्ला समिति बागलुङको सल्लाहकार पनि थिए ।
गौचन हुलाक टिकटको संस्था फिलाटेलिक सोसाइटीका पूर्वअध्यक्ष पनि थिए । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका गौचनले २०६० सालमा बृहत्तर लुम्बिनीको अवधारणासँगै मायादेवीको मन्दिर बनाउन नेतृत्वसमेत गरेका थिए ।
पिता ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उनी पहिलो पुस्ताका विद्यार्थी थिए । त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि २०७३ सालमा उनकै संरक्षण र अभिभावकत्वमा अत्याधुनिक भवन बनाइएको छ ।
गौचनलाई बागलुङको सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष र जिल्लाका २२ खानीका विषयमा पनि विशेष दक्खल थियो । बागलुङको पश्चिमी भेगमा थुप्रै झोलुङे पुल बनाउन उनले नेतृत्व गरेका थिए । सोही कारण आज बागलुङलाई झोलुङे पुलको जिल्ला पनि भनिन्छ ।
नयाँ विश्व डटकमका अध्यक्ष तथा बागलुङ कल्याण समाज काठमाडौंको पूर्वअध्यक्ष पुष्पमान श्रेष्ठले गौचनलाई यसरी सम्झिए– ‘उहाँ बागलुङको सामाजिक, शैक्षिक र राजनीतिक खम्बा हुनुहुन्थ्यो । उहाँको मृत्युले समग्र जिल्ला र समाजलाई अपूरणीय क्षति भएको छ ।’
स्वर्गीय गौचनका एक छोरा र चार छोरी छन् ।



















































































































































































































