प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको बताए । उनका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ ।
हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो । उक्त हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो ‘एमआइ १७’ क्षमतासम्मको हेलिकोप्टर बस्न सक्ने जनाइएको छ ।



















































































































































































































