नेपाल ट्राभल एन्ड टुरले काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बससेवा सञ्चालन गर्ने भएको छ । सरकारले भ्रमण–वर्ष घोषणा गरेपछि कम्पनीले अत्याधुनिक पर्यटकीय बस सञ्चालन गर्ने योजना बनाएको थियो ।
तर कोभिड–१९ का कारण योजना केही पछाडि सार्दै तिहारपछि सञ्चालनमा ल्याउने तय भएको कम्पनीका सञ्चालक पदम आचार्य बताउँछन् । ‘एक वर्षअगाडि नयाँ तरिकाले ट्राभल बिजनेस सुरु गर्ने उद्देश्यले बस सञ्चालनमा ल्याउने तयारीमा थियौं । कोभिडका कारण सात महिनापछि बस सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।
अशोक लेल्यान्डको भाकिङ्स २२२ सिरिजको यो गाडीमा थप विशेषता राखिएका छन् । सिंगल इन्जिनयुक्त यो गाडीमा सोफामै बसेर यात्रा गर्न सकिनेछ ।
बसमा एयर कन्डिसन, सस्पेन्सन क्षमतासँगै यो गाडीमा रुफ टप सिस्टम पनि छ । बसको आन्तरिक बनोट ‘हाइली लक्जरियस’ छ । ‘यात्रुले रुफटपमा जडान गरिएको ग्लासमार्फत आकाशको पनि दृश्यालोकन गर्न सक्नेछन्,’ उनले भने । २८ सिट क्षमताको गाडीको भाडादर १२ सय रुपैयाँ हुने उनले जानकारी दिए ।
















































































































































































