प्रदेश २ सरकारले सडक यातायात सहजताका लागि पूर्वपश्चिम राजमार्गमा सरकारी बस चलाउने योजना अघि बढाएको छ। एक महिनाभित्र जनकपुरबाट पर्साको वीरगन्ज र सप्तरीको राजविराजसम्म सरकारी बस चलाउन प्रदेश २ मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना अघि बढाएको हो।
गत आव २०७६र७७ को बजेटमा प्रदेश सरकारले सरकारी बस चलाउने योजनाको लागि बजेट विनियोजन गरेको थियो। सोही अनुरुप टेन्डर गरी सिप्रदी ट्रेडिङ प्रालिबाट सुरुवाती चरणमा यसै वर्ष ५ वटा ५० सिटे बस पनि खरिद गरी जनकपुर ल्याइएको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताए ।
बसका चेसिज भारतबाट भैरहवा नाका हुँदै भित्रिएको हो। नेपाल भित्रिएकाको बडी तथा अन्य रंगरोगनको काम भैरहवामै भएपछि बसहरु जनकपुर ल्याइएको हो ।
३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरिएको मन्त्रालयले जनाएको छ । बसहरू अहिले सिप्रदीको ढल्केवरस्थित गोदाममा राखिएको छ। चाँडै नै बस सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सञ्चालनमा ल्याइने भौतिकमन्त्री सोनलले स्पष्ट पारे।
‘बस चलाउने योजना अनुसार कसरी, कुन रुटमा सञ्चालन गर्ने, भाडा कति राख्ने, चालक, सहचालक कसरी नियुक्त गर्नेलगायत सबै विषयमा कार्यविधि बन्दै छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भएपछि बस सञ्चालनको उद्घाटन कार्यक्रम गरी बस राजमार्गमा दौडिन्छ।’
पहेँलो रंगको बसमा प्रदेश परिवहन लेखिएको छ। यो बसमा यात्रा गर्दा निजीभन्दा कम भाडा तोक्ने प्रदेश सरकारको तयारी छ। प्रदेश २ का पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका जनताको आवागमनको लागि यस्तो योजना ल्याइएको मन्त्रालयको छ।
















































































































































































