२१ बैशाख २०८१, शुक्रबार

 

टेस्लाको बजार मूल्य बढेसँगै विश्वकै दोस्रो धनी बने एलन मस्क

गत साता प्रविधि जगत्मा सबैभन्दा चर्चाको विषय बने, टेस्ला कम्पनी र यसका मालिक एलन मस्क । टेस्ला कम्पनीको भाउसँगै यसका सीईओ एलन मस्कको सम्पत्तिमा समेत उल्लेख्य बढोत्तरी भयो । उनी विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा उक्लिन सफल भए ।

माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सलाई पछि पार्दै मस्क विश्वका दोस्रो सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।सन् २०२० को सुरुवातमा टेस्ला कम्पनीको बजार मूल्य जम्मा ८० अर्ब डलर थियो ।

त्यति बेलासमेत टेस्ला कम्पनीको बजार मूल्य आवश्यकता भन्दा बढी भएको र खासै लाभदायी नभएको व्यवसायको मूल्य खासै धेरै हुन नसक्ने बताइएको थियो ।

तर टेस्लाप्रतिको त्यस्तो नकारात्मक धारणालाई लगानीकर्ताहरूले खारेज गरिदिए । वर्षभर नै यो कम्पनीको सेयर मूल्य बढिरहेको छ र अहिले टेस्ला कम्पनीको बजार मूल्य साढे ५ खर्ब डलर नाघिसकेको छ ।

टेस्ला कम्पनीको मूल्य अब टोयोटा, फक्सवागन, हुन्डाई, जीएम तथा फोर्डको कुल मूल्यभन्दा पनि अधिक भइसकेको छ । टेक टेन्सका अनुसार ती कम्पनीले अघिल्लो वर्ष कुल ५० अर्ब डलर मुनाफा कमाएका छन् । तीमध्ये कतिपयले चाहिँ कोरोना महामारीका कारण अहिले आर्थिक मार झेलिरहेका छन् ।

उता टेस्ला भने यो वर्ष १ अर्ब डलर मुनाफाको बाटोमा छ । कम्पनीको उक्त मूल्यांकनलाई हेर्दा निकट भविष्यमा लगानीकर्ताहरूलाई ५० प्रतिशत मुनाफा हुने सम्भावना बढेको हो त रु टेस्लाका प्रशंसकका अनुसार कम्पनीले अटो उद्योगलाई एक नयाँ दिशा दिएको छ ।

तर सन् २०२० को सुरुआतमा जब टेस्ला केवल ८० अर्ब डलरको कम्पनी थियो त्यतिबेला समेत यो भनाइ सत्य नै थियो ।कतिपय विश्लेषकहरूचाहिँ लगानीकर्ताले टेस्ला कम्पनीको सेयर खरिदमा जुवा खेलिरहेको समेत बताउँछन् ।

टेस्लाका कारहरूको मूल्य जति धेरै नै किन नहोस्, खरिदकर्ताहरूले मूल्यभन्दा पनि प्रडक्टका रूपमा त्यसलाई खरिद गर्ने गरेका छन् ।

अनौठो त के भने गत मे १ तारेखमा कम्पनीका सीईओ एलन मस्क स्वयंले टेस्ला कम्पनीको सेयर मूल्य अधिक भइसकेको भनेर ट्विट गरेका थिए ।

आफ्ना कम्पनीको सेयर मूल्य आवश्यकताभन्दा धेरै भएको भन्ने उनको ट्विटका कारण कम्पनीको मूल्य १४ अर्ब डलरले घटेको थियो । तथापि त्यसयता टेस्लाको मूल्य चार गुणाले बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्