२ जेष्ठ २०८२, शुक्रबार

 

बलेवामा प्याराग्लाइडिङ चलाउन पूर्वाधार बनाइँदै

जिल्लाको बलेवामा प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वाधार निर्माणको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँमा भौतिक निर्माण अघि बढाइएको हो ।
गण्डकी सरकारका उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले मंगलबार पूर्वाधार निर्माणको शिलान्यास गरे ।

त्यस क्रममा उनले पर्यटनको विकासबाट आर्थिक समृद्धिमा पुग्न सकिने बताए । ‘पर्यटनको विकासबाट हामीले समृद्धि हासिल गर्न सक्छौं,’ उनले भने, ‘अहिले धन कमाउन विदेश गएका युवालाई यहीँ राखेर पर्यटनको विकासमा लगाउन सकिए उनीहरूले यहीँ रोजगारी पाउनेछन् र उनीहरूले आर्थिक आर्जन पनि गर्नेछन् ।’

मन्त्री लम्सालले १०/१० किलोमिटरको दुरीमा पर्यटकीय पूर्वाधारहरू तयार गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेशमा पोखरापछिको पर्यटकीय गन्तव्य बनाउन यहाँका जनप्रतिनिधिहरू सक्रियतासाथ लाग्नुपर्नेमा जोड दिए । ‘पोखरा त गण्डकीको मात्रै होइन, नेपालकै उत्कृष्ट पर्यटकीय ठाउँका रूपमा गनिन आउँछ,’ उनी भन्छन्, ‘पोखरापछि गण्डकी प्रदेशमा अर्को पर्यटनको केन्द्र बागलुङलाई बनाउनुपर्छ र बनाउन पनि सकिन्छ । त्यसका लागि यहाँका सरोकारवाला र जनप्रतिनिधिहरू योजनाबद्ध ढंगबाट अगाडि बढ्नुपर्छ ।’

नेकपाभित्र मौलाएको आन्तरिक किचलोतर्फ संकेत गर्दै लम्सालले जनताले आफूहरूलाई राम्रो गर्न जनमत दिएकाले पार्टी नफुट्ने बताए । ‘हामीलाई जनताले राम्रो काम गर्न जनमत दिएका हुन्,’ उनी भन्छन्, ‘अहिले पार्टी फुट्दैन । छलफल र बहसहरू हुनु स्वाभाविक हो ।’ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, सावित्रा राना, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, जलजला गाउँपालिका पर्वतका अध्यक्ष यामबहादुर मल्ललगायतले मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung