हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापनाको माग गर्दै बागलुङ बजारमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र राष्ट्रिय युवा मार्चा बागलुङले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले नेपाली–नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दुराष्ट्र अपरिहार्य भएको बताएका छन् ।
वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको बताउँदै खड्काले जनतामा राजतन्त्रकाे अावश्यकता महसुस हुँदै गएकाे बताए । ‘अब नेपाली जनताले राजतन्त्र चाहेका छन्,’ अध्यक्ष खड्काले भने, ‘वर्तमान सरकारबाट जनता खुसी छैनन् ।’

सरकारको विरोध कार्यक्रममा राष्ट्रिय युवा मोर्चाका संयोजक संजय खड्काले देशमा महँगी, भ्रष्टाचार, अनियमितता, वाइडबडी काण्डलगायतले सरकार असफल भएको बताएका छन् । देशका युवाहरु विदेश पलायन भइरहेको भन्दै सरकारले रोक्नमा चासो नदिनु गैर जिम्मेवारीको परकाष्ट भएको बताएका हुन् ।

प्रदर्शनमा ‘राजा आउ, देश बचाउँ, भ्रष्टाचारीलाई कारबाही गर, राजतन्त्र पुर्नस्थापना गर, संघीयता खारेज गर, गणतन्त्र घोका हो, हिन्दुराष्ट्र जिन्दावादलगायतका नारा लगाएका थिए ।
करिब ३ सय मोटरसाइकल र गाडीसहित बजारमा र्याली निकालिएको थियो । प्रदर्शनमा बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट समर्थकको उपस्थिति रहेको थियो ।



र याे पनि
हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाको माग गर्दै बागलुङमा शक्ति प्रदर्शन (तस्बिर)













































































































































































































