बिवाईसी बागलुङले आफ्नो ३५ औं स्थापना दिवसका अवसरमा २९ औं साधारणसभा बिहीबार गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले समाजको परिवर्तन विकास र समृद्धिका लागि गैरसरकारी संस्थाको भूमिका पनि महत्वपूर्ण रहेको बताएका छन् ।
गैसस राज्यको समानन्तर भूमिकामा नभई सहयोगी निकाय भएकाले विकास निर्माण, जागरण लगायतको जनहितको सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका दर्जनौ गैरसरकारी संस्थाहरु अहिले हराउँदै गए पनि बिवाइसीको भूमिका प्रशंसनीय भएको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष टिकाराम सापकोटा, संस्थापकहरु विद्यापति शर्मा, कृष्णराज शर्मा, नेकपाका युवा नेता हिराबहादुर केसी, काठेखोला गाउँपालिका– १ वडाध्यक्ष खडक थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, दातृ संस्था सामी परियोजनाबाट पूर्णशोभा महर्जन, फेयरमेडका कार्यक्रम संयोजक गणेश बरुवाल, हेफर नेपालका तुलाराम चौधरी र डिसिआरडिसीका अध्यक्ष सिर्जना थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाले आगामी दिनमा विधिको शासन, मानवअधिकारको रक्षा र युवा रोजगार तथा व्यवसाय लक्षित कार्यक्रम गर्ने नीति पास गरेको छ । संस्थालाई पारदर्शी बनाएर सुशासनको नमूना बनाउने, स्थानीय पालिकाहरुको सहकार्यमा राष्ट्र निर्माणमा योगदान गर्नेलगायतको कार्यक्रम र नीति बनाएको बिवाइसीका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिए ।
साधारणसभाले सचिव दिपक गौतमले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष गंगाकुमारी शर्माले आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
सो अवसरमा उद्यमी तथा प्राविधिक गिरीबहादुर पुन, कुशुमाया केसी, जेष्ठ सदस्य कृष्णराज शर्मा, कर्मचारीहरु रिता शर्मा, निर्मला बुढाथोकी र पुनाराम बिकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।



















































































































































































































