१९ भाद्र २०८३, शुक्रबार

 

धनुषामै उत्पादन हुँदै छ तीनपांग्रे हलुका सवारी

फाइल तस्बिर

प्रदेश २ को धनुषामा तीनपांग्रे हलुका सवारीसाधनको ‘एसेम्ब्ली प्लान्ट’ सञ्चालनमा आएको छ । जनकपुरधाम–२४ बसहियामा मिथिला अटो क्राफ्ट प्रालि सञ्चालनमा ल्याइएको हो ।

डेढ वर्षदेखि परीक्षणमा तीनपांग्रे अटोरिक्सा उत्पादन गरिरहेको उद्योगमा धनुषाका व्यवसायी श्याम साहले २४ करोड ७५ लाख लगानी गरेका छन् । तराई तथा पहाडी भेगमा तीनपांग्रे सवारीसाधनको माग बढिरहेको अवस्थामा स्वदेशमै उत्पादन गरी बेच्न उनले उद्योगमा लगानी गरेका हुन् ।

ग्रिभ्स ३९५ सीसी रेडीवाटर (कुलिङ) सिस्टम भएकाले बलियो र आकर्षक पीभीपीएल मोडेलमा अटो उत्पादन भइरहेको उद्योग व्यवस्थापन पक्षले जनाएको छ । एक बिघा क्षेत्रफलमा फैलिएको उद्योग स्थापनाका लागि बैंक अफ काठमाडौंले ७ करोड ऋण उपलब्ध गराएको सञ्चालक साहले जानकारी दिए । सामान बोक्ने लोडर ७ लाख ५० हजार रुपैयाँ पर्छ भने प्यासेन्जर बोक्ने गाडीको ७ लाख ९० हजार रुपैयाँ कम्पनीले तोकेको छ ।

मिथिला अटो क्राफ्ट प्रालिबाट उत्पादन हुने ब्रान्डको नाम मेक दिइएको छ । यो गाडी प्रतिलिटर पेट्रोलमा १८ देखि २२ किलोमिटरसम्म गुड्छ । वर्षमा ४ सयदेखि १ हजारको माग भए पनि गत वर्ष कम्पनीले जम्मा १ सय ३५ वटा मात्र अटो बिक्री गर्न सकिएको जनाएको छ ।

प्रदेश १, २, वागमती, गण्डकी र लुम्बिनीमा नेपालका लागि आधिकारिक बिक्रेता जनक अटो प्रालिले स्थानीय बिक्रेता नियुक्त गरी अटोको बिक्री वितरण गरिरहेको जनाएको छ । देशभरका कम्तीमा तीन दर्जन सहरमा आधिकारिक बिक्रेता नियुक्त गर्ने कम्पनीको लक्ष्य छ । भारतबाट इन्जिन र केही पार्टपुर्जा मगाएर बाँकी सबै पार्टपुर्जा कम्पनीमै उत्पादन गरी ‘एसेम्बल’ हुने गरेको छ ।

‘भारतबाट इन्जिन र केही पार्ट मात्र मगाउँछौं,’ उद्योग सञ्चालक साहले भने, ‘हामीले स्वदेशी उद्योगले उत्पादन गरेको कच्चा पदार्थ खरिद गरी चेसिस, बडी, हुड, गियर बक्सलगायत पार्ट आफैं डिजाइन गरी उत्पादन अनि फिट गर्छौं ।’

उद्योग सञ्चालनमा आएपछि करिब डेढ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीले अहिले बजारमा भारतीय ब्रान्ड लोहिया, एपीआई, बक्सी नामका तीनपांग्रे अटो रिक्सासँग प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung