१९ भाद्र २०८३, शुक्रबार

 

९१ वर्ष पुरानो ब्राण्डकाे जावा मोटरसाइकल बागलुङमा बिक्री शुरु, कति पर्छ मूल्य ?

गण्डकी प्रदेशको दोस्रो ठूलो व्यापारीक केन्द्र बागलुङ सदरमुकाममा २१ औ शताब्दीका युवालाई लक्षित गरी जावा मोटरसाइकल बिक्री वितरणको लागि स्वरूम संचालनमा ल्याइएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले नेपाल भित्रायको जावा ब्राण्डका मोटरसाइकल बागलुङमा निकेश अटोमोवाइल्सले बिक्री शुरु गरेको हो ।

बागलुङ नगरपालिका–३ शान्तिटोलस्थित ‘होटल दि राजन’ आगाडी संचालनमा ल्याइएको स्वरुमको बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले विहीबार उद्घाटन गरे । उपप्रमुख खड्काले जिल्लामा मोटरसाइकल पारखी थुप्रै रहेकोले जावाले मन जित्ने बताए ।

खड्काले जावाका मोटरसाइकल बागलुङ प्रवेशसँगै क्लासिक मोटरसाइकलको पारखीहरुलाई नयाँ अप्सन थप भएको बताए । क्लासिक मोटरसाइकल पारखीका लागि जावाका नयाँ मोटरसाइकल पहिलो रोजाइमा पर्ने आफ्नो विश्वास रहेको संचालक निकेश खड्काले बताएका छन् । शुरुकै दिनमा २ वटा बुकिङ्ग भएको र अन्य धेरैले फोन गरेकोले बिक्री पनि राम्रो हुने अपेक्षा उनको छ ।

भारतमा लोकप्रिय बनेको मोटरसाइकल जावा अन्तर्राष्ट्रिय बजारमा ९१ वर्ष पुरानो मोटरसाइकल ब्राण्ड जावाले नेपालमा नयाँ अप्सनसहितको क्लासिक मोटरसाइकल बिक्री शुरु गरेको छ ।

जावाका मोटरसाइकल खासगरी क्लासिक, अब्बल इन्जिन क्षमता र आकर्षक डिजाइनका कारण बढी रुचाइको छ । बागलुङमा निकेश अटोमोवाइल्सले अहिले जावा क्लासिक र जावा ४२ ल्याएको छ । यी मोटरसाइकलले रोयल इन्फिल्डका मोटरसाइकललाई टक्कर दिने ठानिएको छ ।

धेरै भाइब्रेट नहुने, लामो दूरीसम्म सहजरूपमा राइड गर्न सकिने ९१ वर्ष पुरानो ब्राण्ड भएकाले यसले नयाँ पुस्तालाई पुरानो पुस्ताको भोगचलनको स्पष्ट अनुभूति गराउने सञ्चालकको भनाइ छ ।

जावा बाइक आकर्षक डिजाइन र अब्बल इन्जिन क्षमताको रहेको जावा र जावा–४२ दुबै मोडललाई सिंगल र डबल च्यानल एबीएस गरी दुई–दुई भेरियन्टमा ल्याइएको छ । यी दुबै मोटरसाइकलमा २९३ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । ‘यसको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ भने टरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

 

जावा बाइक अहिले बजारमा कालो, मरून (कलेजी) र खरानी (ग्रे) रंगमा उपलब्ध छ भने जावा–४२ ब्याटल ग्रीन, निलो (आकाशे), गाढा हरियो, गाढा निलो, रातो र चम्किलो निलो गरी ६ रङमा उपलब्ध रहेको छ ।

जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५ सय तोकिएको छ । त्यसैगरि जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर बिक्री शुरु गरेको निकेश अटोमोवाइल्सका संचालक अर्जुन खड्काले बताए ।

पुराना दिनहरूमा १२० वटाभन्दा बढी राष्ट्रमा क्लासिक, राम्रो इन्जिन क्षमताका साथ एकदमै राम्रो डिजाइनमा जावा मोटरसाइकल बिक्री वितरण भइरहेको छ ।

१९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो । यो बाइक निकै सुन्दर र बलियो भएकाले यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । उत्कृष्ट लुक्स, पावर पिकअप र विशेषताकै कारण पछिल्लो समय जावाले संसार भर प्रसिद्ध कमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung