१९ भाद्र २०८३, शुक्रबार

 

विद्युतीय सवारीका पक्षमा बाइडेनको प्रतिबद्धता : कार्यान्वयन कति सहज ?

एक साताअघि कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संघीय सरकार तथा यस मातहतका सवारी साधनलाई विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा गरेका छन् ।

पछिल्लो ‘फेडेरल फ्लिट रिपोर्ट’ अनुसार अमेरिकी संघीय सरकार मातहत अहिले ६ लाख ४५ हजारभन्दा बढी सवारी साधन छन् । यिनमा २ लाख ४५ हजार सवारीसाधन नागरिक सेवाका प्रशासनिक निकायहरूका हुन् भने १ लाख ७३ हजार सैन्य सवारी । त्यस्तै २ लाख २५ हजार सवारी पोस्ट अफिसका भएको प्रतिवेदनले जनाएको छ ।

बाइडेनले चुनावी अभियानका दौरान वातावरण संरक्षण र अमेरिकी कम्पनीले बनाएका विद्युतीय सवारीका पक्षमा थुप्रै कुराहरू बोलेका थिए । बाइडेनले संघीय सवारी साधनहरूलाई विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा गरेका भए पनि यसको कुनै अवधि तोकेका छैनन् । यति समयभित्र प्रतिस्थापन गर्ने नभनिएकाले यसलाई फगत प्रतिबद्धताका रूपमा मात्र लिनेहरू पनि छन् ।

प्रतिस्थापन गर्ने भनिएका मध्ये केही सवारीसाधन चाँडै हट्ने सम्भावना छैन । किनकि केही सवारीसाधन चाँडै हटाउँदा यसको लागत ठूलो पर्ने देखिएको छ भने विशेष किसिमका सवारी झन् विद्युत्कृत स्वरूपमा आउनुअघि त्यसको विकासका लागि थुप्रै काम गर्न आवश्यक रहेको औंल्याइएको छ । यसका बाबजुद ठूलो संख्यामा र बारम्बार प्रयोग हुने प्रकृतिका सवारी साधनहरूलाई विद्युतीयले प्रतिस्थापन गर्दा इन्धन र मर्मतसम्भारमा हुने सरकारको अर्बौं डलरको खर्च दीर्घकालमा बचत हुने बताइएको छ ।

अहिले अमेरिकी पोस्ट अफिसका धेरै सवारी साधनहरू भने प्रतिस्थापन गर्नैपर्ने अवस्थामा छन् । यससँग भएका ‘ग्रुमम्यान एलएलभी’ गाडी सन् १९८० को दशकबाटै प्रयोगमा ल्याइएका हुन् ।

नियमित रूपमा छोटो दुरीमा चल्ने यी गाडी पोस्टल सेवाका दौरान बारम्बार रोक्ने र स्टार्ट गर्ने गर्नुपर्ने हुन्छ, जुन विद्युतीय सवारी साधनको हकमा सहज र उपयुक्त कार्य हो । झन्डै ४० वर्ष पुराना यी सवारी साधन प्रतिस्थापनका लागि धेरै वर्षदेखि अमेरिकी सरकारले थुप्रैपटक बिडिङ प्रक्रिया अघि बढाउँदै फिर्ता गर्दै गरिरहेको छ ।

सोही दौरान यसअघि वर्कहर्स नामको कम्पनीले विद्युतीय डेलिभरी भ्यान आपूर्ति गर्ने प्रस्ताव पेस गरेर ठेक्का सम्झौताको चरणसम्म पुगेको थियो । तर ठेक्का प्रक्रिया नै रोकिएको थियो । अहिले पुनः बाइडेनको घोषणाले यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाइडेनका यातायात सचिव पिट बट्टिगेगले पनि अत्याधुनिक विद्युतीय सवारी साधनमा राष्ट्रपतिको इच्छातर्फ संकेत गरेका छन् ।

‘बाइडेनले अमेरिकी सडकमा दशौं लाख विद्युतीय कार कुदेको हेर्न चाहनुभएको छ,’ बट्टिगेगले भनेका छन् । राष्ट्रपतिका रूपमा सुरुका केही दिनमै बाइडेनले वातावरणीय पक्षमा थुप्रै कदम चालिसकेका छन् । प्रतिबद्धता जनाएअनुसार उनले ‘पेरिस एग्रिमेन्ट रिजोइन’ र ‘किस्टोन एक्सएल पाइपलाइन अनुमति खारेजी’ जिम्मेवारी सम्हालेको पहिलो दिनमै गरेका थिए ।

यससँगै उनले नीति विज्ञहरूको ‘क्लाइमेट टिम’ नै बनाएका छन् । उक्त टिममा भएका जोन केरीले वातावरणका सम्बन्धमा विश्वको नजरमा अमेरिकाको छवि सुधार्नका लागि काम थालिसकेको बताइएको छ । यसपछि आएको विद्युतीय सवारी साधन प्रयोगको घोषणालाई ठूलो कदमका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung