अमेरिकी कम्पनी एप्पलसँग स्वचालित कार निर्माणमा सहकार्यको सम्झौता नभएको सार्वजनिक गरेसँगै दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई र कियालाई ठूलो धक्का लागेको छ । यसबारेमा एप्पलसँग कुनै छलफल नभएको हुन्डाई मोटर कम्पनीले सोमबार जनाएको छ । जबकि एक महिनाअघि हुन्डाईले एप्पलसँग यस विषयमा प्रारम्भिक कुराकानी भइरहेको बताएको थियो ।
एप्पलसँगको सम्भावित सहकार्यको समाचारका कारण त्यति बेला हुन्डाईको सेयर मूल्य आकासिएको थियो । तर सोमबारयता सेयर मूल्यमा ठूलो गिरावट आएको छ । हुन्डाईको सेयर मूल्य ६।२ प्रतिशतले घट्दा हुन्डाईले सोमबार आफ्नो बजार मूल्यको कुल ३ अर्ब डलर गुमाउन पुगेको छ ।
त्यस्तै हुन्डाईको भगिनी कम्पनी किया कर्पको सेयर मूल्यमा झनै घटेको छ । सोमबार कियाको सेयर मूल्यमा १५ प्रतिशतले गिरावट आउँदा उसले साढे ५ अर्ब डलर गुमाएको छ । सोमबार एक वक्तव्यमा हुन्डाई कम्पनीले भनेको छ, ‘हामीले स्वचालित विद्युतीय गाडीहरूको संयुक्त उत्पादनमा सहकार्यका लागि विभिन्न कम्पनीहरूबाट अनुरोध प्राप्त गरिरहेका छौँ ।’
गत जनवरी महिनाको सुरुमा दक्षिण कोरियाका स्थानीय सञ्चारमाध्यममा हुन्डाईलाई उद्धृृत गर्दै एप्पल र हुन्डाईबीच सन् २०२७ सम्ममा स्वचालित विद्युतीय कार उत्पादन गर्ने विषयमा छलफल भइरहेको खबर सार्वजनिक भएको थियो । समाचारमा हुन्डाई वा कियाले अमेरिकामा सञ्चालन गर्ने कारखानामा ती कारका ब्याट्री उत्पादन गर्ने गरी सम्झौता हुन लागेको बताइएको थियो ।
अघिल्लो हप्ता मात्रै सीएनबीसीलगायत सञ्चार माध्यमले एप्पल र हुन्डाईबीचको सम्झौता अन्तिम अवस्थामा पुगिसकेको बताएको थियो भने दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले फेब्रुअरी १७ मै सम्झौता हुन लागेको समाचार प्रकाशन गरेका थिए ।
दक्षिण कोरियाको दोस्रो ठूलो कम्पनी हुन्डाईले आफ्ना गाडीहरूका लागि इन्जिनदेखि सबै पाटपुर्जासमेत आफ्नै कारखानामा उत्पादन गर्छ ।













































































































































































































