७ जेष्ठ २०८१, सोमबार

 

८ जना युवा, जसले हेरिटेज होटललाई पब्लिक कम्पनीमा लैजाँदैछन्

२० महिना अघिबाट निर्माण सुरु भएको बुढानिलकण्ठ हेरिटेज होटल आगामी पुसमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

होटल निर्माणको आरसीसीसम्बन्धी सबै काम सकेर अहिले मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङसहित इन्टेरियरको काम सुरु भएको बुढानिलकण्ठ हेरिटेज प्रालिका अध्यक्ष डा. राजेन्द्र केसीले बताए ।

प्रालिमा दर्ता भएको होटललाई पब्लिक कम्पनीमा लैजाने तयारी भइरहेको छ । ‘हामी अब साधारणसभामा यो प्रस्ताव लैजाने र आवश्यक कागजातसँगै प्रक्रिया अघि बढाइरहेका छौं, अध्यक्ष केसीले भने । होटलले निकट भविष्यमा आवश्यक परे आइपीओसमेत जारी गर्ने जनाएको छ।

नारायण गोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आना जग्गामा निर्माण भइरहेको यो होटलमा १०२ वटा कोठा रहने केसीले बताए । तीन वटा भवनसहितको उक्त होटलका १०२ कोठामध्ये दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा रहने छन् । आगामी जनवरी १ मा होटल उद्घाटन गर्ने योजना कम्पनीको छ ।

करिब एक अर्ब ६० करोड रुपैयाँ लागतमा बनिरहेको होटलमा विभिन्न क्षेत्रका ३१ जनाले लगानी गरेको केसीले बताए ।

यो प्रोपर्टीमा पाँच तारे होटलसँगै दुई वटा पार्टी भेन्यू पनि निर्माण गरिने बताइएको छ । ठूलो हलमा करिब चार सय र सानोमा एक सय ५० जना अट्ने पार्टी भेन्यू निर्माण हुने केसीले जानकारी दिए । होटलमा दुई सयवटा गाडी अट्ने पार्किङस्थल हुने छ ।

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, योगा तथा ध्यान केन्द्र निर्माण हुने बताइएको छ । पार्टी भेन्यूलगायत हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, योग तथा ध्यान केन्द्र विशेष रुपमा आन्तरिक पर्यटकलाई र १०२ कोठाहरु विशेष रुपमा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गर्ने योजना रहेको केसीले जानकारी दिए ।

‘१०२ वटा कोठाहरु युरोपियन, अमेरिकी, चिनियाँ, भारतीयलगायतका देशका पाहुनालाई लक्षित गरिएको छ। सहरी क्षेत्रबाट नजिकै रहेको होटल भएकाले टाढा जानुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ केसीले भने, ‘साथै नजिकै रहेका बुढानिलकण्ठ र कृष्ण मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, विपश्यना ध्यान केन्द्रसहित होटलबाटै ट्रेकिङ रुट निर्माण हुने भएकाले धार्मिकसँगै एड्भेन्चर टुरिजमको स्वाद पाहुनाहरुले होटल वरपर भेट्न सक्छन् ।’

यस्तै, होटलका कोठाहरु अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी उच्च स्तरको हुने दाबी केसीले गरे । कोठाहरु तीन सय २० देखि तीन सय ३० वर्गफीटसम्म रहेको, इन्टरकनेकन रुमसहित सेमिनार तथा वर्कसप आयोजना गर्ने हलहरु रहेको केसीले बताए ।

ग्राहकहरुलाई सहजता होस् भनेर सर्भिस लिफ्ट र ग्राहकलाई छुट्टाछुट्टै दुईवटा लिफ्ट जडान गरिने होटलले जनाएको छ। होटलको बोर्डमा केसीसँगै सीए तथा व्यवसायी दीपक पाण्डे, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्।

याे पनि पढ्नुहाेस् :

देशकै ‘युनिक’ पाँचतारे होटल छिट्टै सञ्चालनमा ल्याउँदै छौं

 

प्रतिक्रिया दिनुहोस्