बागलुङमा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एन्ड एस’अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्र्याएको हो । स्कुटर सोरुमको हालै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शुभारम्भ गरे । उनले विद्युतीय सवारीसाधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए ।
‘इन्धन खरिदमा नेपालबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिने गरेको छ,’ पौडेलले भने, ‘विद्युतीय सवारीसाधनको प्रयोगले देशभित्रै पुँजी र स्रोतसाधनको परिचालन हुनेछ ।’
सोरुमका सञ्चालक विष्णुराज पन्तले १ लाख ३५ हजारदेखि २ लाख १७ हजार सम्म मूल्य पर्ने स्कुटर बिक्रीमा राखिएको बताए । उनका अनुसार लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर सोरुममा छन् । लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमि र लिड ब्याट्रीबाट ६५ किमि गुड्छ ।
लिथियम ब्याट्रीको एक लाख ५० हजार किमि र लिड ब्याट्रीको ६५ हजार किमि ग्यारेन्टी रहेको पन्तको भनाइ छ । यस्तै स्कुटरलगायत अन्य पाटपुर्जामा एक वर्षको ग्यारेन्टी छ । स्कुटरको प्रतिघण्टा ५५ किमिसम्म गुड्न सक्ने क्षमता छ । विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिने जनाइएको छ ।
बागलुङबजारका केही मुख्य स्थानमा चार्जिङ स्टेसनसमेत राख्ने तयारी गरिएको सञ्चालक पन्तले बताए । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारससिंह थापाले सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिइरहेका बेला बागलुङमा विद्युतीय स्कुटर भित्रनु सुखद रहेको बताए । कानुनअनुसार दर्ता गरेर जिल्लामा विद्युतीय स्कुटर सञ्चालनको प्रबन्ध मिलाइने उनको भनाइ छ ।
















































































































































































