२१ भाद्र २०८३, आईतवार

 

महंगा गाडीको प्रतिबन्ध फुकुवा

सरकारले महंगा गाडी र केही खाद्यपदार्थ आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। मन्त्रिपरिषद बैठकले गरेको आयात फुकुवाको सूचना राजपत्रमा आज प्रकाशित गरिएको हो।

गत वर्ष सरकारले ५० हजार डलरभन्दा माथि मूल्यका गाडीसँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयात गर्न नपाउने निर्णय गरेको थियो। गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकारले अन्य खाद्यवस्तुको भने परिमाण तोकेर आयात खुलाएको हो।

मन्त्रिपरिषद्को बैठकले यी वस्तुमाथिको आयात प्रतिबन्ध फुकाउँदै यसबारे राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज प्रतिबन्ध फुकुवाको सूचना प्रकाशित गरेको हो।

फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिमाणात्मक बन्देज खुलाउने भने पनि के कति परिमाणमा कुन व्यवसायीलाई आयात गर्न दिने भन्ने कुरा उल्लेख थिएन।

प्रकाशित सूचनाअनुसार एक व्यवसायीले केराउ वार्षिक ८० हजार मेट्रिक टन आयात गर्न पाइने उल्लेख छ। त्यस्तै सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइनेछ। नधुल्याइएको मरिच वार्षिक एक व्यवसायीले १५ हजार मेट्रिक टन आयात गर्न पाउने भएको छ।

सरकारले गत वर्ष आयातमा प्रतिबन्ध गरेपछि नेपालमा रहेका केही मसला उद्योगीहरुले समस्या परेको भन्दै गुनासो गरेका थिए। उनीहरुको गुनासो सुनुवाइ गर्दै मसला उद्योगी तथा उद्योगको कच्चा पदार्थको रुपमा मरिच भने आयात गर्न पाउने व्यवस्था गरिएको थियो।

गत वर्ष चैतमा प्रतिबन्ध गर्ने निर्णय भएको र साउनमा उद्योगलाई आवश्यक मरिच आयत गर्न पाइने व्यवस्था गरिएको थियो। केराउ, मरिच, सुपारी, छोकडा तेस्रो मुलुकबाट आयत हुने गर्छ। ती आयातित वस्तु नेपालमा खपत कम हुने र भारत निर्यात बढी हुने हुनाले सरकारले प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung